चारपाने । 

झापाको साँघुटार र चारपानेको सांगवेद संस्कृत विद्यालयका विद्यार्थी तथा गुरुहरूले शनिबार(आज) बिहान ९ बजेदेखि महेन्द्र राजमार्गस्थित पूर्व–पश्चिम मुख्य सडकमा गरेको सवारी साधान आवत–जावतको अवरोध २ बजेदेखि हटेको छ । 

धरानतर्फ जाने क्रममा प्रहरीले चारपानेचोक पश्चिम बस स्टेण्ड अगाडी रोकेपछि आक्रोशित सनातनीहरूले सडकमै आन्दोलन गर्दा सवारी साधन आवत–जावतमा  अवरुद्ध भएको थियो । उनीहरुले दिउँसो २ बजेसम्म सडक अवरोध गरेका थिए । 

सुनसरीको धरानमा मङ्गोल र हिन्दुवादीबिच उत्पन्न विवादका कारण  धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्के सम्भावनालाई मध्यनजर गरेर सुनसरी प्रशासनले आज धरान क्षेत्रमा गरेको निषेधाज्ञाको असर झापाको चारपानेमा पनि देखा परेको छ ।

झापामा कुनै निषेधाज्ञा जारीनभएको र प्रहरीले गाडी रोक्ने काम गरेको भन्दै साधुटारका पिठाधीश लक्ष्मी खतिवडाले यसको जवाफ सरकारले दिनु र्ने माग राखेर हिन्दु सनातनीहरू सडकमै बसेर आन्दोलन गरेको बताएका छन् ।

सडक अवरोधसँगै बिहान ९ बजेदेखि दिउसो २ बजेसम्म सवारीसाधनहरू रोकिएका थिए । एम्बुलेन्स बिरामी बोकेको गाडीलाई भने बन्दकर्ताहरूले आवत–जावत गर्न दिएका थिए ।

सार्वजनिक, निजी ठुला तथा साना गाडीदेखि मोटरसाइकललाई पनि रोकिएको थियो । सडक जाम हुँदा सयौँ यात्रुहरू गन्तव्यतर्फ जान सकेका थिएनन् । रोकिएका सवारी साधान २ बजेपछि आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।