बिर्तामोड ।
नेपाल चिया विकास निगम लिमिटेड र सामुहिक सौदावाजी समितिको छलफल तथा वार्ताले चिया बगानका श्रमिकका लागि तोकिएको आधारभुत पारिश्रमिक र महँगी भत्ता समेतमा वृद्धि भएको फरक रकम सो अवधिमा काम गरेका श्रमिकलाई २०८० साउन १ गतेदेखी नै लागु गर्ने र भुक्तानी दिने सहमति भएको छ ।
निगमका तर्फबाट प्रशासन प्रमुख लोकनाथ दंगाल र प्रशासन अधिकृत बेनुप्रसाद शिवाकोटीसहित सामुहिक सौदावाजी समितितर्फबाट मजदुर नेताहरुबिच शुक्रवार बिर्तामोडमा भएको छलफल तथा बार्ताले उक्त सहमति गरेको हो ।
छलफलमा सामुहिक सौदावाजी समितिको तर्फबाट नेपाल चिया बगान श्रमिक संघका केन्द्रिय अध्यक्ष दीपक तामाङ, बरिष्ठ उपाध्यक्ष मिलन राई, महासचिव जीवन खड्का, नेपाल ट्रेड युनियन कांग्रेस झापा अध्यक्ष यज्ञप्रताप अधिकारी, अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रिय उपाध्यक्ष भूपाल सापकोटा, अखिल नेपाल चिया मजदुर संघका केन्द्रिय अध्यक्ष सिता सापकोटा, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ संयोजक सन्तकुमार राई, उपाध्यक्ष सहिकुमार राईलगायतको सहभागीता रहेको अखिल नेपाल चिया मजदुर संघकी केन्द्रिय अध्यक्ष सिता सापकोटाले जानकारी दिएकी हुन् ।
नेपाल सरकारले २०८० साउन ३२ मा राजपत्र प्रकाशित गरी चिया बगानका श्रमिकका लागि तोकिएको आधारभुत पारिश्रमिक र महँगी भत्ता समेतमा वृद्धि भएको फरक रकम सो अवधिमा काम गरेका श्रमिकलाई भुक्तानी दिने सहमति भएको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकलाई सुचिकृत गर्ने सम्बन्धमा हाललाई नेपाल चिया विकास निगम लिका चिया वगानमा नियमीत ( स्थायी) रोजगारीमा रहेका श्रमिकहरुलाई सम्झौता भएको मितिदेखी प्रकृया शुरु गरी कानुन वमोजिम योगदान गर्ने र गराउने अन्यको हकमा थप छलफल गर्दै जाने सहमति भएको जनाइएको छ ।
सामुहिक सौदावाजी समितिका तर्फबाट नेपाल चिया विकास निगम लिको २०७९ असार ५ गते राखेको सामुहिक माग पत्रका बिषयमा २०७९ भदौ १३ गते भएको पहिलो छलफलमा आगामी वार्ताका लागि दुवै पक्षका विच आपसी सहमतिले वार्ताको मिति तोकी वार्ता वस्ने निर्णय भएको थियो । सोही निर्णय अनुसार बिहीबार दोस्रोे पटक छलफल भएको थियो ।