विराटनगर । 

नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिले कोशी प्रदेशका मुख्यमन्त्री उद्वब थापालाई २० बुँदे ज्ञापनपत्र बुझाएको छ । बिराटनगर स्थित मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेको किसानहरुको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

बिगतदेखि बर्तमानसम्म जति सरकार परिवर्तन भएपनि किसानका समस्याहरु सम्बोधन नभएको भन्दै २० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशब भट्टराईले बताए ।

प्रारम्भमा नेपाली कांग्रेसका कोशी प्रदेश सभापति तथा प्रदेश सांसद उद्वव थापालाई मुख्यमन्त्रीमा नियुक्त हुनुभएकोमा महासंघको तर्फवाट बधाईसहित सम्मान पत्र हस्तान्तरण गरिएको थियो । केन्द्रीय सदस्य केशब भट्टराई तथा प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त समेत गरेका थिए । ज्ञापनपत्र पनि केन्द्रीय सदस्य भट्टराई र प्रदेश अध्यक्षले संयुक्त रुपमा बुझाएको सचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री थापाले नेपाल किसान महासंघले निरन्तर रुपमा किसानका सवालमा काम गरिरहेको प्रति खुसी ब्यक्त गर्दै प्रदेशमा आफ्नो पार्टीको सरकार बनिरहदा थप अपेक्षा राख्नु स्वभाभिक भएको बताएका थिए ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले महासंघले उठाएका २० वटा मागहररु अत्यन्तै जायज र आवश्यक रहेको भन्दै यी बिषयमा कहाँ, कसरी र कहिलेसम्ममा सम्बोधन गर्न सकिन्छ ? यस विषयमा प्रदेश कृषिमन्त्री तथा कृषि मन्त्रालयसँग तत्काल बसेर छलफल गर्ने बताए।

ज्ञापनपत्रमा किसानलाई बर्गीकृत परिचयपत्र र त्यसकै आधारमा सेवासुविधा प्रदान गरिनुपर्ने, महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगको रोकथाम र क्षतिको आधारमा किसानलाई क्षतिपूर्तिको ब्यवस्था गरिनुपर्ने, कृषि ऐन निर्माण गरी कार्यान्वयनमा ल्याइनुपर्ने, कृषि अनुदानलाई बर्गीकृत कोटा निर्धारण गरिनुपर्ने, कृषि उपजको आयात गर्दा परीक्षण गरेर मात्रै ल्याइनुपर्ने, रासायनिक मल र खाद्यान्न अभावको स्थायी समाधान खोज्नुपर्ने, कृषि ज्ञानकेन्द्रमार्फत सहज रुपमा कृषि प्राविधिक उपलब्ध गराइनुपर्ने, भुमीहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराइनुपर्ने लगायतका माग समेटिएको महासंघ झापाका अध्यक्ष रतन थिङ्लावोले जानकारी दिए।