बिर्तामोड ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य इन्द्र आङ्बो (मौसम) ले पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढेको बताएका छन् ।
पार्टीले सञ्चालन गर्न लागेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को अभिमुखीकरण कार्यक्रम तथा झापाको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता आङ्बो मुलुकलाई समाजवादको बाटोमा अघि बढाउने पार्टीको मूल उद्देश्य भएकाले सामाजवाद स्थापित गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि अपरिहार्य रहेको उल्लेख गरेका हुन् । ठूलो क्रान्तिबाट प्राप्त उपलब्धिलाई अब शान्तिपूर्ण मार्गबाट स्थापित गर्नुपनेमा उनको जोड थियो । माओवादी केन्द्रका १ नं. प्रदेश संसदीय दलका नेता समेत उनले मुलुकको आर्थिक विकासलाई मूल उद्देश्य बनाउनु पर्ने बताएका छन् ।
मुलुक हरेक कुरामा परनिर्भर भइरहेको अवस्थाको अन्त्य गर्न हरेक नेता–कार्यकर्ता जनतामाझ गएर उत्पादन, बजारीकरण, औद्योगिकीकरणमा जोडिनुपर्ने पार्टीको नीति अनुरुप चल्नुपर्ने उनले बताए । उनले केन्द्रीयदेखि टोलसम्मका नेता–कार्यकता लाग्नु पर्ने बताउँदै जनताको घर–घरमा गएर उनीहरुको समस्या बुझ्नु पर्ने बताएका छन् ।
त्यस्तै, केन्द्रीय सदस्य शिवकुमार मण्डलले माओवादीकै एजेण्डामा मुलुकमा चलेपनि जनतालाई बुझाउन नसक्दा पार्टी कमजोर बन्दै गएको बताए । उनले पार्टीले मुलुकमा ऐतिहासिक परिवर्तन गरेर गणतन्त्र आएपनि अन्य पार्टी भन्दा फरक नदेखिएकाले जनमत घट्दै गएको बताए । पार्टीको दोष हटाउन र पार्टीलाई जिवन्त बनाउन पार्टीले निर्धारण गरेको तीन महिने अभियान फलदायी हुने विश्वास व्यक्त गर्दै पार्टीलाई बलियो बनाउन माओवादी नेता–कार्यकर्ता स्वमय् सच्चिन जरुरी रहेको समेत बताएका छन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका अध्यक्ष राजु आचार्य अग्निले भदौ १६ देखि मंसिर १५ गतेसम्म पार्टीले ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नाराका साथ जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्न लागिएको बताए । अभियान अन्तरगत झापाका १३१ वटै वडाको वडागत जिम्मेवारी पाउनेहरु प्रमुख तथा सदस्यको नामावली वाचन गरेका थिए ।
कार्यक्रममा झापा क्षेत्र नं. ३ का संयोजक भवानीप्रसाद दंगालले केन्द्रीय सर्कुलर वाचन गरेको कार्यक्रमको सञ्चालन पार्टीका झापा सचिव मोहन टुडूले गरेका थिए । कार्यक्रममा ज्योतिसिंह दर्लामी, ममता राजवंशी, केन्द्रीयय अनुशासन आयोग सदस्य पूर्णसिंह राजवंशी, प्रदेश नं.१ सचिव गणेश उप्रेती (सुशील), सहसचिव रचना राई, जिल्ला सहइञ्चार्ज, शहीद बेपत्ता परिवार लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।