विराटनगर । 

कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमाले आज सर्वोच्च अदालत जाने भएको छ। अहिलेको सरकार असंवैधानिक भन्दै खारेज गर्न र ठूलो दलका हिसाबले एमालेको सरकार बनाउन माग गर्दै रिट दायर गर्न लागिएको नेकपा एमाले कोशी प्रदेशले जनाएको हो ।  

नेकपा एमाले कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री उद्धव थापालाई मुख्यमन्त्रीको मान्यता नदिन प्रदेश प्रमुख परशुराम खापुंगलाई ध्यानाकर्षणपत्र समेत बुझाएको छ। मत विभाजन हुँदा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले समेत विश्वासको मत दिएकाले संविधान विपरीत भएको भन्दै मान्यता नदिन एमालेले अनुरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा संविधानको धारा १८६ का विपरीत मत विभाजनका लागि हस्ताक्षर गर्ने कार्य समाप्त भएपछि र मत सच्याउन दिने ३ मिनेटको घण्टी बज्ने समय समेत समाप्त भएपछि मन्सुरीले विश्वासको मत दिन हस्ताक्षर गरेको उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘सभाको अध्यक्षता गरी रहेका इस्राईल मन्सुरीले आफ्नो कुर्सीबाट उठी मत विभाजनका लागि राखिएको कागजमा जबरजस्ती हस्ताक्षर गरी संविधान र कानुनको ठाडो उल्लङ्घन गरेको ब्यहोरा जानकारी गराउन चाहन्छौ ।’ जबरजस्ती ४७ सङ्ख्या पुर्‍याई तथाकथित बहुमत देखाउन गरेको कार्य संविधान, प्रचलित कानुन र संसदीय मूल्य मान्यता समेतको ठाडो उल्लङ्घन भएको आरोप छ।