मेचीनगर ।
झापाको मेचीनगर ६ स्थित काँकरभिट्टा माविमा अध्ययरत विद्यार्थी बेहोस हुन थालेपछि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी स्वास्थ्यकर्मी सहितको टोलि लिएर विद्यालय पुगेका छन् ।
केहिदिन अघिदेखि काँकरभिट्टा माविमा अध्ययन गर्न आउँने विद्यार्थीहरु एक दुई जना बेहोस हुने क्रम रहेकोमा आइतबार मात्रै कक्षा ७ मा अध्ययरत १३ जना छात्राहरू कक्षा कोठामा नै चिच्याउने, काम्ने, तथा बेहोस हुन थालेपछि विद्यालयको पठनपाठनमा समेत केहि समस्या भएको प्रअ हरि न्यौपानेले बताए ।
दिउँसो कक्षा चलिरहेका बेला कक्षा ७ का विद्यार्थी बेहोस भएर ढलेका हुन् । विद्याथीहरु चिच्याउने, काम्ने, र बेहोस हुन थालेसंगै पठनपाठनमा समेत समस्या हुन थालेपछि नगरप्रमुख बुढाथोकी विद्यार्थीको अवस्था बुझ्न र स्वास्थ्य उपचार गर्न विद्यालय पुगेका थिए । उनले आफुसंगै जनप्रतिनिधि र मेचीनगरका स्वास्थ्यमर्की सबै विद्यार्थीकै साथमा रहेको बताउँदै नअत्तालि आफ्नो आत्माबल उच्च राख्न सुझाए ।
उनीहरुलाई गर्मी र मास हिस्टेरीको लक्षण देखिएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले बताइन् । उनले अहिले विद्याथीको अवस्था सामान्य रहेको जानकारी दिइन् ।
मेचीनगर नगरपालिकाका नगरप्रमुख बुढाथोकी, वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाल, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटालगायत स्वास्थ्यकमीले विद्यार्थीलाई आत्मबल बढाउन सचेतना दिएका थिए ।