हल्दिबारी । 

हुलाकी राजमार्गको झापाचोक  राजगढ सडक खण्डको कालोपत्रे सडकमा परेको खाल्डाखुल्डी पुर्ने र मर्मत गर्ने कार्य सम्पन्न भएको छ। शनिबारबाट शुरू भएको  कालोपत्रे सडकमा भएको  खाल्डाखुल्डी पुर्ने र मर्मत गर्ने कार्य सम्पन्न भएको हो। 

हल्दिबारी गाउँपालिका भित्र पर्ने सडक क्षेत्रको वडा नम्बर ३ को स्थानीय भुसुडि पुलदेखि वडा नम्बर ५ को भुतेनी पुलसम्मको भागमा सडक मर्मत गरिएको हो ।

स्थानीय युवा नीरप्रसाद अधिकारीको अगुवाईमा स्थानीयहरूको जनश्रमदान तथा हल्दिबारी ५ नम्बर वडा कार्यालयबाट १५ बोरा सिमेन्ट सहयोग तथा प्रवासी समाजको आर्थिक सहयोगमा उक्त कार्य सम्पन्न भएको अधिकारीले बताए । 

‘सडकको निर्माण कार्य पूरा नहुँदै ठाउँ–ठाउँमा खाल्डो परेको थियो’ उनले भने ‘उक्त खाल्डाखुल्डीको कारण दुर्घटनाको अत्यन्तै जोखिम रहेको थियो ।’ दुर्घटनालाई कम गर्न र सडकलाई थप क्षति हुन नदिन र आमसर्वसाधारणलाई समेत स–सना काम नागरिक स्तरबाट पनि गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको उनले बताए ।

जम्मा १५ बोरा सिमेन्ट कार्यालयबाट, स्थानीय मदन तामाङबाट १ ट्याक्टर मिक्स गिटी सहयोग गरेका थिए भने सुनिल बाह्कोटिले उक्त साधन ढुवानी गर्न ट्याक्टर उपलब्ध गराएका थिए।