विर्तामोड ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन २० बर्षे योजना तयार गर्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघ झापा अन्तर्गत कनकाई र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिको आयोजनामा विर्तामोडमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले त्यस्तो धारणा राखेका हुन् ।
‘‘यहाँको पपुलेशन हेर्दा अबको २० बर्षमा नेपाल बुढो हुन्छ’ प्रतिनिधिसभाको सांसद समेत रहेका थापाले भने ‘२० बर्ष अघि नै नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन सकेमात्रै यसको विकास सम्भव छ, बुढो भएपछि विकास सम्भव हुँदैन ।’ उनले जापान र कोरियाको उदाहरण प्रस्तुत गर्दै ती देशले जवान छँदै आर्थिक समृद्धि प्राप्त गरेका कारण मात्रै अहिले विदेशबाट कामदार लगेर रोजगारी दिन सम्भव भएको बताए ।
नेपालको विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको बताउँदै थापाले गनगन गर्ने र समस्या मात्रै ओकल्ने मान्छे नचाहिएको बताएका छन् । युवा पुस्ताबाट देशलाई समृद्ध बनाउने योजना आउने उनको विश्वास थियो ।
उनले थाहै नपाई नेविसंघको झण्डा बोकेको बताउँदै नेविसंघ एउटा स्कुल हो, त्यहाँ थुप्रै कन्टेन्टहरु भएको बताए । उनले लर्निङ एण्ड डुइङको अवसर भएको र प्रवेश गरेको मान्छेले कहिल्यै पछुताउनु नपर्ने बताए ।
नेविसंघ कनकाई इकाई समिति अध्यक्ष किरण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवे, सचिव नवीन विमली, कोषाध्यक्ष जलकुमार गुरुङ, इलामका पूर्व सभापति हिमालय कर्माचार्य, नेपाल प्रेस युनियन केन्द्रीय सचिव रेजिना गौतम, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, नेपाल ट्रेड युनियन केन्द्रीय सदस्य उर्मिला पोखरेल, जिल्ला सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, नेविसंघ एवं तरुण दलका केन्द्रीय सदस्यसहित विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
नेविसंघ झापा सभापति सञ्जय निरौलाले स्वागत गरेको कार्यक्रम गोकुल पौडेल र गृष्मा सापकोटाले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।