झापा । 

झापाका पालिकाहरुले गरेको करबृद्धिका बारेमा नेकपा एमाले झापाले आफ्नो धारणा सार्वजनिक गरेको छ । नेकपा एमाले झापाले बुधवार (आज) एक प्रेस बिज्ञप्ती जारी गर्दै ६ बुँदे धारणा सार्वजनिक गरेको हो । 

एमालेले कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीले देश गम्भीर अवस्थाबाट गुज्रिएको जनाउँदै सत्ताको बागडोर सम्हालेका नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य साझेदारहरु राष्ट्रिय संकटको जटिल समयमा पनि सत्ता स्वार्थको खेलमा केन्द्रीत बनेको आरोप लगाएको छ । 

देश दिनप्रतिदिन जटिलतातर्फ उन्मुख भइरहँदा पनि वर्तमान सरकार राष्ट्र र जनताप्रति गैर जिम्मेवार रुपमा प्रस्तुतको नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ । जारी बिज्ञप्तीमा भनिएको ‘आर्थिक क्षेत्रलाई तहसनहस बनाइरहेको सरकार भ्रष्ट्राचारमा मात्रै केन्द्रीत छ । जसका कारणले जनताको नजिकको सरकार स्थानीय तह समेत प्रभावित हुने अवस्थामा पुगेका छन् ।’

केन्द्र सरकारले स्थानीय सरकारलाई पठाउनु पर्ने अनुदानका कार्यक्रमहरु कटौती गर्दै जनताको नजिकको सरकारलाई कमजोर बनाउने काम गलत भइरहेको छ । आर्थिक रुपमा आम नागरिक आफ्नो दैनिक जिवन चलाउन सकिरहेका छैनन् । कर्मचारीले समयमा तलब सुविधा पाउने अवस्था छैन । महंगीले नागरिक आक्रान्त बनेको छ । सरकार जनताको यस प्रकारको समस्याबाट भोगिरहेको छ ।

यता, स्थानीय सरकार स्रोत साधन व्यवस्थापनका लागि कर वृद्धिमा केन्द्रीत भई आम नागरिकलाई करको भार बोकाउन बाध्य हुनु परेको छ । कोभिड महामारी र त्यसपछि आर्थिक मन्दीबाट प्रभावितहरु उठ्न प्रयास गरिरहेको बेला झापाका कतिपय स्थानीय तहले गरेको कर वृद्धिप्रति नेकपा(एमाले) जिल्ला कमिटी झापाको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख छ । यस परिस्थितीमा करको दायरा बढाउदै चुहावट रोक्नु उत्कृष्ट विकल्प हुने भन्दै त्यसतर्फ पालिकाहरुको ध्यानाकर्षण समेत गराएको छ । 

सरकारले रोजगारीको सिर्जना गर्न नसक्नु, सुशासन र विकासलाई अपेक्षित रुपमा अगाडि बढाउन नसक्दा जनता निराश भईरहेका छन् । यो प्रतिकूल समयमा स्थानीय तहहरुबाट समेत करको बृद्धि र विस्तारबाट जनता थप संकटमा पर्ने एमाले झापाको बुझाई रहेको छ ।

त्यस्तै केन्द्र सरकारको रवैयाले संकटग्रस्त बनेको अवस्थामा आम नागरिकहरुको भावनालाई समेत मध्यनजर गर्दै करवृद्धि नगर्न र वृद्धि गरिएको करमा पुनरावलोकन गर्न एमालेले आग्रहसमेत गरेको छ ।  कानुनत करका दायरा क्षेत्रको पहिचान गरि कर चुहावटलाई नियन्त्रण गर्दै आर्थिक रुपमा सक्षम दिगो र नागरिकप्रति जवाफदेही स्थानीय सरकार निर्माण गर्न सबै स्थानीय सरकार गाउँपालिका तथा नगरपालिकाहरुसँग अपिल एमालेले अपिल गरेको छ ।