बिर्तामोड । 

श्रीमान बैदेशिक रोजगारका क्रममा बहराइनमा रहेका बेला तीन जना छोरालाई छोडेर एक महिला नौ दिनदेखि बेपत्ता भएकी छिन् । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १० स्थित कालिस्थान घर भएकी २६ बर्षिया कविता राजवंशी नौ दिनदेखि बेपत्ता भएकी हुन् । 

गत साउन १७ गते बिर्तामोड कपडा किन्न जाने भनेर हिडेकी कबिता घर नफर्कीएपछि परिवारले बैदेशिक रोजगारीको सिलसिलामा ८ महिना अघि बहराइन पुगेका श्रीमान ३० बर्षिय सुरेश राजवंशीलाई खबर गरेका थिए । मंगलबार घर आइपुगेका सुरेशले श्रीमतीको खोजी गरिरहेका छन् । 

कविताका परिवारले उनी बेपत्ता भएपछि खोजी गरिदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय अनारमनीस्थित बिर्तामोड, अर्जुनधारा–११ स्थित गोलधाप प्रहरी चौकी, काँकरभिट्टास्थित माइती नेपाल र भारतको सिलगुडीस्थित एक गैर सरकारी संस्थामा निवेदनसमेत दिएको सुरेशका ठूलोबुबा खगेन्द्र राजवंशीले बताए । 

bepatra

९ जनाको परिवार रहेको घरमा पनि कसैले केही नभने र श्रीमानलाई बिदेश पठाउँदा चलाएको ऋण एकलाख १४ हजार रुपैयाँ हिड्नु भन्दा अघिल्लो दिन (मंगलबार) तिरेको ठूलोबुबा खगेन्द्रले जानकारी दिए । उनका अनुसार कविताका साथमा आधातोला सुन र २५÷३० हजार जती रुपैयाँ मात्र थियो । 

एक बर्ष दुबई बसेर आएका सुरेश घरमै रहेर मिस्त्री काम गरिरहँदा श्रीमतीकै सल्लाह अनुसार आठ महिना अघि बैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएको बताउँछन् । उनका अनुसार बिर्तामोड–५ जात्रुवाडी माइती रहेकी कविताको बारेमा माइतीपक्षलाई पनि केही थाहा छैन । 

सुरेश र कविताका कक्षा ५ मा अध्ययनरत १२ बर्षिय एक र ५ बर्षिय जुम्ल्याहा २ जना एलकेजीमा अध्ययनरत छोरा रहेको बताइएको छ । श्रीमान सुरेशले कहीँकतै कवितालाई कसैले देखेभेटे नजिकैको प्रहरी कार्यालयका खवर गरिदिनसमेत आग्रह गरेका छन् ।