दमक । 

जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले पहिचानको आन्दोलनको आवश्यकता बारे नेतृत्व बर्गले जनतालाई बुझाउन आवश्यक रहेको बताएका छन् । नेता राउतले किन र कसका लागि भनेर तल्लो तहसम्मका पहिचनबादी जनतालाई पचिचानको आन्दोलन नेतृत्वले बर्गले बुझाउन नसक्नु नै कमजोरी भएको बताएका हुन् । 

किराँत लिम्बुवान प्रदेश नामाङ्कन अभियानले बुधवार (आज) झापाको दमकमा अन्तराष्ट्रिय आदिबासी दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डा. राउतले पहिचानबादी आन्दोलनलाई दमन नगर्न पहिलो पटक संसदमा आफुले आवाज उठाएको बताए । ‘पहिचानको आन्दोलन किन आवश्यक छ ?’ डा. राउतले भने ‘बुझाउन नसकिए जनता आन्दोलनमा आउँदैनन ।’ 

कार्यक्रममा दलित सिल्पी आत्मरक्षा अभियानका संयोजक डा. मित्र परियारले नेपालको पहिचानबादी आन्दोलनलाई ब्राह्मणवादीले निलेको आरोप लगाए । हिजो पहिचानबादीको आवाज उठाउनेलाई ब्राह्मणवादीले किनेको पनि उनको भनाई थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै किराँत लिम्बुवान प्रदेश नामाङ्कन अभियानका संयोजक प्रेमदिप लिम्बुले सवै पहिचानबादीलाई एकताबद्ध हुन आग्रह गरेका छन् । उनले जनजाती, आदिबासी, महिला, मधेशी, दलित सिल्पी, उत्पीडन, खस, आर्य, सवै मिलेर कोशी प्रदेश नाम खारेज गरी किराँत लिम्बुवान प्रदेश नामाङ्कनको आन्दोलन गर्न आग्रहसमेत गरे । 

अभियानकी केन्द्रिय सदस्य राधिका विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महमद कादिर मियाले गरेका थिए । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष असोक चेम्जोङ, अभियान्ता प्रबिन चाम्लिङ राई, मुस्लिम समुदायका टवरेज हक मियालगायतले आ–आफ्ना भनाई प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन अभियानका केन्द्रिय सदस्य देशराज नेम्वाङले गरेका थिए ।