हल्दिवारी । 

हल्दिवारीमा भू–उपयोग तथा जग्गा वर्गीकरण नीतिविरुद्ध तीब्र विरोध भएपछि गाउँपालिकाले भू–उपयोग तथा जग्गा वर्गीकरण सम्वन्धी सहजीकरण समिति गठन गरेको छ । हल्दिवारीमा वैज्ञानिक आधारमा जग्गा वर्गीकरण नभएको भन्दै राजनीतिक दलहरुले चरणवद्ध आन्दोलन घोषणा गरेका थिए ।

जग्गा भू–उपयोग वर्गीकरणसम्वन्धी विषयमा गाउँपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले वुझाएको ज्ञापनपत्रका मागहरुलाई संवोधन गर्दै गाउँपालिकाले अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा सो समिति गठन गरेको हो । 

जसको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाँई रहेका छन् । त्यस्तै सदस्यहरुमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, सबै वडाध्यक्षहरु, क्रियाशील राजनीतिक दलका एक÷एक जना प्रमुख तथा प्रतिनिधिलाई राखिएको छ । 

उक्त समितिले जग्गा वर्गीकरणसम्बन्धी आएका समस्याहरुको पहिचान गर्ने र समाधानका लागि अघि बढ्ने निणर्य गरेको छ । हल्दिवारी गाउँपालिकाको भू–उपयोग तथा जग्गा वर्गीकरण कार्यमा केही प्राविधिक समस्या देखिएकाले केही समयका लागि जग्गा अद्यावधिक सिफारिस कार्य स्थगित गरिएको छ ।

साथै ध्यानाकर्षण पत्रमा माग भए अनुसारको कर्मचारीको नियुक्तिका सम्बन्धमा गाउँपालिकाले नियम बमोजिम कार्य गर्ने तथा रोकिएका आयोजनाहरुलाई स्रोत साधन र बजेटको उपलब्धता हेरी कार्यान्वयन गरिने समेत निणर्य भएको नेकपा एमाले हल्दिबारी गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।