काठमाडौं । 

नेकपा (माओवादी केन्द्र) ले आगामी भदौ महिनादेखि तीन महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भदौ, असोज र कात्तिक महिनामा  ‘जनतासँग पार्टी अभियान’ चलाउने जानकारी गराए ।

त्यस्तै अभियानका क्रममा देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने बुधबार(आज) देखि शुरु भएको बैठकको प्रतिवेदनमा उल्लेख छ ।

अभियानमा सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने, सचिवहरुले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने पनि माओवादीको योजना छ । अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले जितेका १ सय २२ वटा स्थानीय तहलाई नमुना बनाउने पनि योजना रहेको बताएका छन् ।