मेचीनगर ।
झापाको मेचीनगर नगरपालिकाले गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तिब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केहि व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् ।
बजारमा छ्याप छ्याप्ती गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू उपलब्ध रहेको हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न बजार अनुगमनमा कडाई गरिएको नगरपालिकाले जनाएको छ । खाद्यान्न मानिसको स्वास्थ्य संग प्रत्यक्ष जोडिने भएको हुँदा त्यस्ता सामाग्री बिक्रि वितरण गर्दा उपभोग गर्न योग्य हुनु अनिवार्य रहेको नगर प्रमुख गोपालचन्द्र बुढाथोकी बताएका छन् ।
नगर प्रमुख बुढाथोकीको नेतृत्वमा आइतबारबाट सुरू भएको अनुगमन कार्यमा अनुगमन गरिएका अधिकांश पसलमा गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू फेला परेको पाइएको छ । नगरपालिकाले पहिलो पटक अनुगमनमा व्यवसायीहरुलाई सम्झाई बुझाई गरेको र पुनः यस्तै घटना दोहोरिए कानुनी कारवाही गरिने मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती बताइन् ।
अनुगमनका क्रममा टोलीले धुलाबारीको पौडेल किराना पसल, मास भेराइटिज स्टोर, दास किराना पसल त्यस्तै काँकरभिट्टाको भट्टराई भेराइटिज, के.के.एस स्टोर, घिमिरे किराना पसल, एनएमसी पसल काँकरभिट्टा, प्रसाईं पसल, देव खुश्बु किराना पसल, लक्ष्मी किराना र इटाभट्टाको देवी पाथिभरा किराना पसल, कामख्य स्टोर, सरस्वती स्टोर्स, उत्तम सुपर मार्केटलगायतका खाद्यन्न पसरहरुमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा सामान्य व्यवसायीदेखि व्यवसायीका नेता मेची उद्योगा बाणिज्य संघ मेचीनगरका उद्योग उपाध्यक्ष भुमि पौडेलसमेतको पसल र गोदामबाट लाखौँ रुपैयाँको अखाद्य बस्तु जफत गरिएको मेचीनगरका खाद्य बिश्लेषक दिपेन्द्र कार्कीले जानकारी दिए ।
यसरी व्यवसायीका नेताकै पसल र गोदामबाट समेत लाखौँ रुपैयाँको अखाद्य बस्तु जफत भएको अनुगमनमा सरिक मेची उद्योगा बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई बताए । उनले अनुगमनका क्रममा जफत गरिएका सबै सामान मेचीनगर परिसरमा भित्र खाली जमिनमा खाल्डो खनेर नष्ट गरिएको बताइएको छ ।