हल्दिबारी ।
राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिबारी गाउँ कार्य समितिले हल्दिबारी गाउँपालिकाले कार्यालय सहयोगीलाई कम्प्युटर अपरेटर (सहायक पाँचौ) तह पदमा सिधै बढुवा नियुक्ति दिएको बिषयमा आपत्ति जनाएको छ ।
आर्थिक बर्ष २०८०/०८१ को गत असार १० गते भएको हल्दिबारी गाउँपालिकाको १५ औ गाउँ सभामा पारित कर्मचारी बढुवाको बिषयलाई लिएर केही दिन अगाडिदेखि विभिन्न पत्रपत्रिका, अनलाइन तथा सामाजिक सञ्जालमा आएको समाचारप्रति राप्रपा हल्दिबारीको गम्भीर ध्यानाकर्षण भएको सोमबार जारी बिज्ञप्तीमा जनाइएको छ ।
‘हल्दिबारी गाउँपालिकाको १५ औं गाउँसभामा भएको कर्मचारी बढुवा सम्बन्धी निर्णयमा राप्रपा हल्दिबारी गाउँपालिका कार्य समितिसँग समन्वय नभएको हुँदा उक्त निर्णय गाउँ सभाले कानुन बमोजिम वा कानुन विपरित निर्णय गरेको भए यसको सम्पूर्ण जिम्मेवारी १५ औं गाउँ सभाका सम्पूर्ण सभासदहरू जिम्मेवार हुने ठहर गर्दछ’ जारी बिज्ञप्तीमा भनिएको छ ‘तसर्थ यदि उक्त निर्णय कानुन बमोजिम नभएमा सो निर्णय तत्काल खारेज गरी विधि सम्बत निर्णय गर्न गराउनु हुन राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिबारी गाउँपालिका कार्य समिति अनुरोध गर्दछ ।’
बिज्ञप्तीमा पार्टीका सचिब योगेश कार्की र अध्यक्ष एकराज राना मगरले हस्ताक्षर गरेका छन् ।