मेचीनगर।

झापाको मेची नगरपालिकाले सोमबारदेखि बजारमा अनुगमन सुरु गरेको छ । अत्यावश्यक सामाग्रीको कालोबजारी हुन नदिन, उपभोक्ताको स्वास्थ्यमा असर पर्न नदिन म्याद गुज्रिए सामाग्री बेचबिखन गर्न नदिन, मूल्यमा एकरुपता भए–नभएकोबारे जानकारी लिन अनुगमन गरेको हो ।

मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी नेतृत्वको टोलीले धुलाबारी बजार क्षेत्रका किराना पसलमा आकस्मिक अनुगमन गरेको हो ।अनुगमनका क्रममा टोलीले धुलाबारीको पौडेल किराना पसल, मास भेराइटिज स्टोर, दास किराना पसल लगायतमा अनुगमन गर्यो । अनुगमनका क्रममा मूल्यसूची नराखेको, म्याद गुज्रिएका लगायतका सामानहरु भेटिएको थियो ।

मेचीनगर नगरपालिकाले बजार अनुगमन कार्यलाई निरन्तरता दिने जनाएको छ । पहिलो चरण अन्तर्गत व्यवसायीलाई सम्झाइ बुझाइ गरेको र आगामी दिनमा कमजोरी भेटिए तत्काल कारवाही गर्ने नगर प्रमुख बुढाथोकीले बताए ।

अनुगमनमा नगर उपप्रमुख मीना पोखरेल उप्रेती, कृषि शाखा प्रमुख दिपेन्द्र कार्की, वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाल, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं लगायत प्रहरी प्रशासन सहभागी थिए ।

नगरको अनुगमन टोली आउने सूचना थाहा पाएका केही व्यापारीले सटर बन्द गरेर भागे भने केहीले अनुगमन टोलीलाई जवाफ दिन सकेनन् । भारतीय सीमा नजिक रहेका पसलहरुमा अधिकांश सामानहरु भारतीय नै प्रयोग हुने गरेको जनगुनासो बढिरहेको छ ।

यो आर्थिक वर्षको सुरुमा नै बजार अनुगमन गरेकोमा स्थानीयबासी खुसी भएका छन् । वर्षमा एक दुईचोटी मात्र झारो टार्न गरिने परम्पराको अन्त्य गरेकोमा नगरबासीले प्रसंसा गर्न थालेका हुन् । यो अभियानलाई निरन्तरता दिन स्थानीयको माग छ ।