भद्रपुर । 

आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै झापाको भद्रपुर नगरपालिकाले गरेको बजार अनुगमनमा म्याद गुज्रिएका तथा अखाद्य सामग्री बरामद गरेको छ । आर्थिक वर्ष ०८०÷०८१ को शुरुदेखि नै नगरपालिकाले बजार अनुगमन गर्न थालेको छ ।

नगर उप–प्रमुख तथा अनुगमन समिति संयोजक राधा कार्कीको नेतृत्वमा सरोकारवाला सरकारी निकायका प्रतिनिधिहरुसमेतको टोलीले तीन दिनसम्म गरेको बजार अनुगमनका क्रममा उल्लेख्य मात्रामा म्याद गुज्रिएका तथा अखाद्य सामग्री बरामद गरेको नगरले जनाएको छ । 

अनुगमन टोलीमा खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका नारायणप्रसाद भट्टराई, गुणस्तर तथा नापतौल कार्यालय झापाका विजयनन्द चौधरी, कासिन राजवंशी, झापा उद्योग वाणिज्य संघका विशिष्ट सदस्य खड्कबहादुर लिम्बू, नगरपालिकाको कानून शाखा प्रमुख राजेन्द्रप्रसाद ढकाल, सम्बन्धित वडाका जनप्रतिनिधि, नगर प्रहरी, सञ्चारकर्मीलगायतको सहभागिता थियो । समय मिलाएर नगरप्रमुख गणेश पोखरेल पनि अनुगमनमा सहभागी भएका थिए । 

टोलीले बुधबार र बिहीबार वडा नं १ र २ को हिमाली, सोमबारे, सीताचोक, चारआली, सगरमाथा चोकका खाद्य तथा कस्मेटिक पसल, होलटहरुमा अनुगमन गरेको थियो भने शुक्रबार भद्रपुर ५ र ६ का पसलहरुमा अनुगमन गरेको थियो ।

राजश्व शाखा प्रमुख कर्णका अनुसार टोलीले भद्रपुर–१ को आशा उष किराना पसल, हर्कबहादुर राईको पसल, शर्मिला चिया पसल, विकास राइस मिल, सुष्मा कोल्ड स्टार, गणेश भेट्स सेन्टर, प्राश्ना भेराइटिज, निर्मल किराना पसल, खरेल स्टेशनरी, वान्ता राईको पसल, कृष्ण किराना पसल, उर्मिला किराना पसल, आचार्य खाद्य पसल, देव गंगा कोल्ड सेन्टरको अनुगमन गरेको थियो भने वडा नं २ मा दाहाल भेराइटिज स्टोर, उज्वल किराना पसल, सगरमाथा स्टेशनरी, सगरमाथा भेराइटी स्टोर, श.कर इलेक्ट्रिकल्स, सृजना कोल्ड सेन्टर, ए एण्ड बी होटल, अनिता कोल्ड स्टोर, आवाज किराना पसल, कञ्चनजंघा भेराइटी स्टोर, पाँचथर ज्वेलर्स, पार्वती कस्मेटिक्स, चन्द्र स्टार्स, पुन मेडिकल स्टोर, हाम्रो पृथ्वीनगर फ्रृस हाउस, बीग बी मार्ट, सोमबारे खाजा पसल, कार्कीज केक, तेजनाथ सप्लायर्स, नविन किराना पसल, कौशिल्या किराना पसल, ओम गणेश भण्डार, सारिका होटल भद्रपुर ४ को गंगा भण्डार र राजेन्द्र स्टोर, भद्रपुर ५ को पञ्चकन्या आयल ट्रेडर्स र अन्नपूर्ण भण्डार तथा भद्रपुर ६ को तिम्सिना स्टोर्स, शाह स्टोर्स, लक्ष्मी भण्डार, लक्ष्मी स्टोर, सोहन स्टोर्स, विक्की स्टोर्स ओम जगदीश हरे किराना पसलमा अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा टोलीले अधिकांश पसलमा म्याद गुज्रिएका विभिन्न किसिमका खाद्य सामग्री, तेल र अखाद्य मिसावट गरिएका चुक अमिलो, भुटेको केराउ, दाललगायतका सामग्री फेला पारेको र ती सामान जफत गरेको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रतिनिधि भट्टराईले जानकारी दिए । 

सोक्रममा केही पसलले नगरपालिकाको इजाजत नलिएको, केहीले नविकरण नगरेको, ढक–तराजु (डिजिटल काँटा) एजाजत निलिई प्रयोग गरेको गरेको पाइएकोले तिनीहरुलाई समय दिएर इजाजत लिन र नविकरण गर्न निर्देशन दिइएको नगरपालिका जानकारी दिएको छ । जफत गरिएको सामग्री अनुगमनमा सहभागीहरुको रोहबरमा मेची किनारमा खाल्डो खनी पुरेर नष्ट गरिएको अनुगमन टोली संयोजक उपप्रमुख कार्कीले जानकारी दिइन् ।