झापा ।
झापाको झापा गाउँपालिका–२ मा रहेको कुवाडीदेवी टि स्टेट प्रालिमा काम गर्ने चिया वगानका मजदुरहरुले काम गरेको पारिश्रमिक नपाएको भन्दै आन्दोलित बनेका छन्। गत ४ महिना देखीको काम गरेको ज्याला नपाएपछि उनीहरु आन्दोलित बनेका हुन् । टि स्टेटले पारिश्रमिक नदिदा जिवन यापनमा समस्या परेको उनीहरुले बताएका छन् ।
४ महिना देखी बगानमा काम गरेको पारिश्रमिक नपाएपछी आन्दोलनमा उत्रीन बाध्य भएको मजदूर सिता माझीले बताइन् । उनले काम गराउने कम्पनीले ज्याला नदिएपछि के खाएर काम गर्ने भन्दै प्रश्न गरिन् । उनले कसैको खेती नभएको र काम गरेको कम्पनीले ज्याला नदिएपछि कसरी काम गर्नु भन्दै आफ्ना पिडा पोखिन् ।
मालिकले पटक–पटक ज्याला दिने भनेर झुक्काएको मरियम मियाँनी बताले बताइन् । ‘काम गरेको पैसा मालिकले नदिएपछि कति दिन खाली पेट काम गर्न सकिन्छ ?।’ उनले भनिन् ।
मजदुरका अगुवा जगन्नाथ पौडेलले जवसम्म कामदारले पारिश्रमिक पाउदैनन तबसम्म काम ठप्प पारी आन्दोलन चलिरहने बताए। उनले करिव यहाँ काम गर्ने १०० जना मजदुरले करिब ४० लाख भुक्तानी पाउन बाँकी रहेको बताए । ‘शुक्रबार पनि मजदुरले ५ बजेसम्म काम गर्नुभयो’ उनले भने ‘तर बगानले शुक्रवार पनि रकम भुक्तानी गरेन ।’ उनले पटक–पटक ढाटने काम गरेको र अब भने पारिश्रमिक नपाएसम्म काम ठप्प पार्ने बताए ।
टि स्टेटका सञ्चालक सुरेश अग्रवालले शुक्रबार भुक्तानी गर्नु पर्ने भएपनि आर्थिक वर्ष अन्त्यका कारण चेकबाट रकम निस्किन नसकेपछि भुक्तानी हुन नसकेको बताए । अग्रवालले चेक सटही हुने बित्तिकै सोमबार वा मंगलबार कामदारको पारिश्रमिक भुक्तानी गर्ने प्रतिवद्दता ब्यक्त गरेका छन् । झापा गाउँपालिकामा रहेको यो चियावगान करिव ३०० विगाह क्षेत्रफलमा फैलिएको छ।