सुरुङ्गा । 

झापाको कनकाई —४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको पीसीआर ल्याबको सम्पूर्ण सामाग्री प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण गरिएको छ । 

झापामा कोरोना सङ्क्रमण समुदायसम्म देखिन थालेपछि तीनवर्ष अघि मेची प्रादेशिक अस्पताल भद्रपुरको स्वामित्वमा रहने गरी कोटीहोममा ‘एकका लागि एक अभियान’ को पहलमा पीसीआर ल्याव संचालनमा आएको थियो ।

कोरोना संक्रमण नियन्त्रण भइसकेको  भन्दै पीसीआर ल्याव प्रयोग बिहिन हुन थालेपछि त्यहाँ रहेका बहुमुल्य सामाग्री प्रादेशिक अस्पतालमा हस्तान्तरण गरिएको ‘एकका लागि एक अभियान’ का संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । ‘एकका लागि एक अभियान’, कनकाई नगरपालिका र प्रादेशिक अस्पतालका विच भएको सहमति अनुसार प्रादेशिक अस्पतालले आफ्नो दोस्रो प्रयोगशालाको रुपमा उक्त ल्याबलाई सञ्चालनमा ल्याएको थियो ।

संक्रमण नियन्त्रण भइसकेकोले उपकरणलाई आवश्यकता अनुसार अस्पतालले प्रयोगमा ल्याउँन सक्ने अस्पताललाई नै हस्तान्तरण गरिएको अभियानका संयोजक गिरीले बताए ।  

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रोहबरमा अभियानका संयोजक गिरी र प्रादेशिक अस्पतालका ल्याब इन्चार्ज जितेन्द्र झा सहितको हस्ताक्षरमा ल्यावका विभिन्न जिन्सी सामाग्रीको विवरणसहित अस्पताललाई हस्तान्तण गरिएको हो ।    

कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जनस्तरबाट स्थापना भएको कोटीहोमस्थित पीसीआर ल्याबको सेवाप्रति अभियानका संयोजक गिरीलाई नगरपालिकाको तर्फबाट आभारसहित धन्यवाद ज्ञापन गरेका छन् । 

 संक्रमणकालीन अवस्थामा कोटीहोमबाट पीसीआर ल्याब सञ्चालनमा आएसँगै तीन वर्षको अवधिमा ९ हजार ३ सय ४१ जनाको निशुल्क नमुना परीक्षण भएको थियो । त्यस्तै ३९ हजार ५ सय २५ जनाको सशुल्क गरी जम्मा ४८ हजार ८ सय ६६ नमुना परीक्षण भएको ल्यावको व्यवस्थापन तर्फका स्वास्थ्यकर्मी ईन्द्रहरी भट्टराईले जानकारी दिए ।