बिर्तामोड ।
ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीसीसीआई) ले झापाको बिर्तामोडमा सिटीसी र अर्थोडक्स क्षेत्रका समस्या र अवसर बारे शुक्रवार (आज) बिर्तामोडमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
कोशी प्रदेश अन्तरगतको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत रहेर सरोकारवालाहरुको समस्या र त्यसका समाधानका विषयमा काम गर्ने उद्देश्यले जीसीसीआइले कार्यक्रमको आयोजना गरेको हो ।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा जीसीसीआईले नेपालका लागि चिया क्षेत्रमा काम गर्न पाँच वर्षे कार्ययोजना तयार गरेको जीसीसीआईका वरिष्ठ आयोजना समन्वय अधिकृत पुरुषोत्तम प्रसाद गुप्ताले बताए । जीसीसीआईले कार्यक्रममा कृषि मन्त्रालय, टि बोर्ड, उद्योगी, व्यवसायी, उत्पादक, तथा मजदुर नेतासँग सुझाव समेत संकलन गरिएको थियो ।
चिया क्षेत्रका समस्या र समाधानका विषयमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्र अधिकारीले जानकारी गराएका थिए । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले हालसम्म चिया क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानको जिम्मा कुनैपनि निकायले नलिएकाले पनि समस्या समाधान भन्दा पनि जटिल बन्दै गरेको बताएका थिए । उनले माटोको गुणस्तर दिनानुदिन घटिरहेको बताउँदै जलवायु परिवर्तनलाई समेटेर अहिलेको प्रविधिलाई अंगिकार गर्दै अघि बढ्नु पर्ने सुझाव समेत दिए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टीकाराज ढकाल, मजदुर नेता दिपक तामाङ, सन्तकुमार राई, उद्योगी सुरेश कुमार मित्तल, सुमित श्रेष्ठ, सम्वाद समूहको सचिवालयका तर्फबाट कमला भट्टराई, नेपाल पत्रकार महासंघ झापाका सह–सचिव अर्जुन राजवंशी, लगायतले समस्या र समाधानका विषयमा आ आफ्ना सुझाव राखेका थिए ।
कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहाल, प्रवत्ता पशुपति पोखरेल, जीसीसीआईकी नारेक किम लगायतको आतिथ्य रहेको थियो ।