• दीपक उप्रेती 

हल्दिबारी । 

हाम्रो देशमा धेरै यस्ता ठाउँ छन् जसले अन्तराष्ट्रिय स्तरमा समेत नेपालको पहिचान स्थापित गरेका छन् । धार्मिक स्थल तथा मठमन्दिर, संस्कृति, भेषभूषा, प्रकृतिक सम्पदालगायतका बिबिधताले गर्दा पनि विश्वमा नेपालको अलग्गै पहिचान छ ।

नेपालको जैबिक बिबिधताका कारण नै प्रत्येक बर्ष अन्य मुलुकबाट लाखौको संख्यामा पर्यटक नेपाल आउने गरेका छन् । जसका कारण नेपालको अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ । 

झापामा पनि यस्ता धेरै जैबिक बिबिधा रहेका  छन् । यसै क्रममा झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर १ स्थित गोलधाप बजार छेउमा पनि एउटा यस्तो ठाउँ छ जहाँ एउटा बृक्षलाई कोट्याउँदा रातो रगत जस्तै बग्ने गर्दछ । सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर सत्य त्यही हो । मंगलबार शब्दपत्र डटकमकर्मीसहित हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, हल्दिबारी १ का वडाध्यक्ष देबीबहादुर थापा, हल्दिबारी–४ का वडाध्यक्ष सन्तोषकुमार थापा, डा.लीलानाथ शर्मालगायतको टोलीले उक्त स्थानको स्थलगत भ्रमण गरेको थियो ।   

किम्वदन्ती कथा अनुसार १५० बर्षअघि उक्त स्थानमा  खेती गर्ने क्रममा एक सन्थाल जातीका एक ब्यक्ति र एक हल राँगालाई बाघले खाएको थियो भने त्यसै समय उक्त स्थानमा एक वृक्ष उम्रियो र बढ्दै गएको स्थानीयहरुको भनाई रहेको छ । 

सो बिरुवा हल्दिवारी गाउँपालिकाको जलथल जंगलमा समेत नरहेको र उक्त वनस्पतिको पहिचान गर्ने क्रम जारी रहेको विज्ञहरु बताउँछन् । उक्त स्थानमा दैविक शक्ति समेत रहेको र भन्दै उक्त स्थानमा पूजा–आज र दर्शन गर्न भक्तजनहरू जाने गरेको  छन् । 

सो बृक्षमा प्रत्येक भक्तजनहरुले मागेको कुरा आजसम्म पुरा भएको स्थानीयहरु बताउँछन् । बृक्ष स्थानमा हरेक पटक पूर्व उप–प्रधानमन्त्री तथा रक्षामन्त्री राजेन्द्र प्रसाद लिङ्देन दर्शन गरेर मात्र चुनावी मैदानमा उत्रिने गरेको बताइएको छ । उक्त पवित्र तीर्थस्थल सनातन धर्मालम्बीको आस्थाको केन्द्र समेत रहेको  स्थानीयहरु बताउँछन् । त्यस प्रकारको बृक्ष अहिलेसम्म नेपालको अन्यक्षेत्रमा पनि नभेटिएको स्थानीयको भनाई छ । 

सो बृक्षलाई संरक्षण गरी त्यस क्षेत्रको उचित ब्यवस्थापन गर्न सके त्यो क्षेत्र एउटा धार्मिक तथा पर्यटकीय स्थल हुने र त्यहाँ लाखौं पर्यटक आउनेमा दुईमत छैन । 

प्रशिक्षार्थी पत्रकार