बिर्तामोड । 

जननायक वीपी कोइरालाको ४१ औं स्मृति दिवसको सन्दर्भ पारेर झापाको विर्तामोडमा विचार गोष्ठी सम्पन्न भएको छ । नेपाली कांग्रेस बिर्तामोड ५ नम्बर वडा समितिको आयोजनामा जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रमकाबीच नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादका विषयमा चर्चा गरिएको हो ।

सो क्रममा वीपीको राजनैतिक तथा साहित्यिक ब्यक्तित्व, नेपालमा प्रजातन्त्र स्थापनाका लागि उनले  जीवनभर गरेको संघर्ष, उनका अनुयायीहरुले अपनाउनु पर्ने जीवनशैली लगायतका विषयमा चर्चा परिचर्चा भएको थियो ।

बिचार गोष्ठीमा महाधिवेशन प्रतिनिधि एवं वडाका लागि खटिएका प्रतिनिधि तेजप्रसाद चौलागाईंले नेपाली माटोमा जन्मिएर यहाँको आवश्यकता अनुसार प्रजातान्त्रिक समाजबादी बिचारधारा प्रवाह गर्ने नेताहरु नेपाली कांग्रेसमा मात्रै रहेको चर्चा गर्दै कांग्रेसको चारतारे झण्डा समेत जेलमै बनेको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चौलागाईले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा वीपीको विचार र ब्यक्तित्व उत्तिकै लोकप्रिय रहेको बताउँदै उनले आम नागरिकको जीवनस्तर सुधारका लागि ल्याएको नीति समयानुकुल परिमार्जन गर्दै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमका बिशेष अतिथि तथा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले कम्युनिष्ट तानाशाही ब्यवस्थामा सबै ब्यक्तिगत स्वतन्त्रताहरु हनन् हुने बताउँदै वीपीले धनी र गरिबबीचको बर्गीय अन्तर हटाएर सबै नागरिकको समान पहुँच स्थापित गर्ने लक्ष लिएको बताए । कार्यक्रममा वडा सभापति दिपक मेनेङबोले आगामी साउन २० गते वडा सम्मेलन मिति तय गरिएको जानकारी दिदै संगठनलाई सुदृढ बनाउन सबै कार्यकर्ताको क्रियाशिलता जरुरी रहेको बताए ।

कार्यक्रममा जिल्ला सदस्य लीला मैनाली, प्रकाश शिवाकोटी, घनश्याम चौधरी, युवराज प्रसाई, विरु दर्नाल लगायतले शुभकामना मन्तब्य राख्दै पार्टीभित्र हाम्रालाई छोडेर राम्रालाई अवसर दिने पद्धति बसाल्न पार्टी नेतृत्व पंक्तिलाई आग्रह गरेका थिए । 

वडा सभापति मेनेङबोको अध्यक्षतामा सम्पन्न विचार गोष्ठीमा नेपाली कांग्रेस क्षेत्र नम्बर–२ प्रदेशसभा क का सभापति लक्ष्मीप्रसाद आचार्य, विर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई लगायतले शुभकामना मन्तब्य राखेका थिए। वडा उपसभापति सुष्मा पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडासचिव राजेशप्रसाद नेपालले गरेका थिए । 

कार्यक्रममा जिल्ला सदस्यहरु पुष्पलाल चौधरी, ओमकृष्ण विमली, एविसि नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमली, उद्योग बाणिज्य संघ विर्तामोडका सहकोषाध्यक्ष राधिका चुडाल, प्रेस युनियन झापाका निवर्तमान अध्यक्ष इन्दु पूर्वेली लगायत महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधिहरु एवं वडा कार्यसमितिका पदाधिकारी–सदस्यको उपस्थिति रहेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए।