बिर्तामोड । 

साहित्य चौतारी झापाले विशिष्ट दुई साहित्यिक प्रतिभालाई सम्मान गरेको छ । २४ औँ वार्षिकोत्सव एवम् भानु जयन्ती विशेष मासिक सांगीतिक काव्यसभाको अवसरमा साहित्यकारहरु कृष्ण पौडेल र राजेन्द्र संग्रौला सम्मानित भएका हुन् । 

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मनु मञ्जिल र साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले पौडेल र संग्रौलालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका छन् ।  कार्यक्रममा बोल्दै मञ्जिलले साहित्य संगीत र कलाको क्षेत्रमा आफूलाई अहोरात्र समर्पित गरेका देवीभक्त श्रेष्ठ लगायतका विशिष्ट प्रतिभालाई चिन्न र तिनको योगदानलाई कदर गर्ने मामिलामा नेपाल प्रज्ञा प्रतिष्ठान समेत चुकेको बताए । 

साहित्यकार संग्रौलाले संरक्षक श्रेष्ठलाई साहित्यिक पिताको उपमा दिँदै कला, संस्कृति र भाषाको संरक्षणमा लागिरहने व्यक्तित्वका रुपमा चित्रित गरे ।  कार्यक्रममा संरक्षक श्रेष्ठले स्वागत गीत प्रस्तुत गर्दै रामायण वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार तथा लेखक लीला उदासी, भवानी क्षेत्री, शुभद्रा अर्याल, दीपक सुवेदी, युवराज काफ्ले (सिलिगुढी) लगायतले बोलेका थिए ।  चौतारीका पूर्व अध्यक्ष टंक विकल्प र दुःखी महल तिम्सिना र कविता पौडेल ९असम भारत० ले कविता वाचन गरेका थिए भने विवश बलिभद्र कोइराला र दीपा दाहालले गजल वाचन गरेका थिए ।

 चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव खगिन्द्रा खुसीले गरेकी थिइन् । कार्यक्रममा संरक्षक उर्मिला विमली, सह संरक्षक गौरव श्रेष्ठसहित आख्यानकार पुण्यप्रसाद खरेल, साहित्यकार डा। पुण्यप्रसाद सिग्देल, लीला अनमोल, रश्मिशेखर सुवेदी लगायतको उपस्थिति रहेको थियो । 

  • विद्यालयमा साहित्य चौतारी कार्यक्रमका उत्कृष्ट प्रतिभा पुरस्कृत

साहित्य चौतारीले झापा र भोजपुरका १९ वटा विद्यालयमा लागू गरेको विद्यालयमा साहित्य चौतारी अभियान अन्तरगत विभिन्न चरणको प्रतिस्पर्धा पार गरेर उत्कृष्ट भएका विद्यार्थी पुरस्कृत भएका छन् । २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट भएका विद्यार्थी पुरस्कृत भएका हुन् । 

विद्यालयमा साहित्य चौतारी अभियानका संयोजक भानुभक्त कुभिण्डेलीका अनुसार गायनतर्फ कनकाई मावि सुरुङ्गाकी दीया काफ्ले प्रथम, गौरीगञ्ज मावि गौरीगञ्जकी अवितामाया चेपाङ दोस्रो र दुर्गा मावि गरामनीका उमेश गौतम तृतीय भएका छन् । 

कवितातर्फ हिमालयन मावि दमककी गरिमा न्यौपाने प्रथम, महेन्द्ररत्न मावि समयगढकी दिलसा विक दोस्रो र जनता मावि गौरादहकी लीला खत्री तृतीय भएका छन् । उनीहरुलाई कार्यक्रमस्थलमा कविता लेख्न लगाइएको थियो । 

चित्रकलामा दुर्गा मावि गरामनीकी कृतिका मैनाली प्रथम, जनता मावि गौरादहका सागर तामाङ दोस्रो र झिलझिले मावि शिवसताक्षीकी सोनीया विक तृतीय भएका छन् । नृत्यतर्फ शान्ति आदर्श मावि बुद्धशान्तिकी विष्णु गहतराज प्रथम, भद्रपुर मावि की रेखा कार्की र युनिसा पुरी ९सामुहिक नृत्य० द्वितीय, जनता मावि गौरादहका साकिरा श्रेष्ठ, सृष्टिका दाहाल, प्राप्ति  दाहाल र नुमा लिम्बू ९सामुहिक नृत्य० तृतीय र दुर्गा मावि गरामनीकी छात्रा मनिषा लामाले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

उत्कृष्ट विद्यालय र विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको थियो । प्रमुख अतिथि मञ्जिलले उनीहरुलाई सम्मानपत्रसहित पुरस्कार प्रदान गरेका थिए ।