झापा । 

झापाको हल्दिबारी गाउँपालिकालाई उपहार स्वरुप एउटा एम्बुलेन्स पाएको छ ।  गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको सक्रिय पहलमा हल्दिबारीले एम्बुलेन्स प्राप्त गरेको स्रोतले जनाएको छ। काठमाडौंस्थित भारतीय राजदूतावासले पालिकालाई एम्बुलेन्स प्रदान गरेको हो । 

नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने संघसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको भारतीय दूतावासले हल्दिबारीलाई समेत प्राथमिकतामा राखेर एम्बुलेन्स प्रदान गरेको हो । आज दूतावासमा आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गरेका थिए । 

हल्दिबारी गाउँपालिका उपाध्यक्ष एम्बुलेन्स लिन दुई दिन अगाडि नै काठमाडौ पुगेकी थिइन् । उपाध्यक्षहरुको न्यायीक सम्मेलनमा गएको बेला एम्बुलेन्सको लागि आफ्ना ज्वाइँ मार्फत दूतावासमा निवेदन दिइकी थिइन् । 

हल्दिबारीले एम्बुलेन्स प्राप्त गर्नुमा उपाध्यक्ष मैनालीका ज्वाईं नेपाल सरकारका कर्मचारी संजयकुमार दाहालको महत्त्वपूर्ण सहयोग रहेको थियो । उनैले दूतावाससँग सहकार्य गरि एम्बुलेन्स प्राप्त गर्ने उल्लेखनीय भुमिका खेलेको बुझिएको  छ ।