सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोग गर्नेहरूलाई जरिवाना गर्ने भएको छ । नगरपालिकाले केही दिन अघिदेखि सूचना गर्दै साउन १ गतेदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा रोक लगाउँदै आएको थियने । सोही क्रममा  आइतवार (आज) नगरले सचेतना कार्यक्रममार्फत जरिवाना  तोकिएको जानकारी गराएको हो।

नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरि सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए।

नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएकाले कसैले अटेर वा बेवास्ता गरे नगरको ऐन बमोजिम बिक्री वितरण कर्तालाई अधिकतम  ५० हजार रुपैयाँ जरिवाना गरिने उप–प्रमुख आशा शर्मा शिवाकोटीले जानकारी दिइन् । प्रयोगकर्ताको हकमा भने अधिकतम  पाँच हजार रुपैयाँ जरिवाना तोकिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताए  । सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएको कर्मचारी विजय पाठकले जानकारी दिए।

नेपाल सरकारको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ मा राज्य तथा सरकारी निकाय, संस्था तथा कार्यालय, शिक्षण, तालीम केन्द्र, स्वास्थ्य केन्द्रहरू, पुस्तकालय, बाल उद्यान, सार्वजनिक शौचालय, उद्योग तथा कारखाना, होटल, मोटल, रिसोर्ट, रेष्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास अतिथि गृह, रङ्गशाला, कभर्डहल, व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, स्टोर, मिनी मार्केट, धर्मशाला, धार्मिक स्थल, सार्वजनिक सवारी, प्रतीक्षालय, टिकट काउन्टर लगायतका क्षेत्रलाई सार्वजनिक स्थल तोकेको छ ।

आज नगरका सबै अधिकांशले उक्त कार्यलाई सफल पार्न  बजार टोल तथा चोकचोकमा  सचेतनामुलक र्याली समेत  निकालेका थिए ।