• निर्मला कट्टेल

अर्जुनधारा । 

नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्यमा सूचिकृत झापाको अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धाममा श्रावणी पर्व–२०८० को सम्पूर्ण तयारी पुरा भएको छ ।

पूर्वको पशुपतिनाथले परिचित धाममा श्रावणी पर्वको अवसरमा जलार्पण गर्न आउने भक्तजनहरुको लागि परिक्रमा मार्ग, पण्डाल, पार्किङको व्यवस्थापनलगायत कार्य गरिएको धाम व्यवस्थापन समितिका महासचिव शिवलाल खतिवडाले बताए ।

त्यसैगरी भक्तजनहरुको लागि बनाइएको मार्गहरुको नामकरण पाँच पाण्डवको नामबाट गरिएको छ । जसअनुसार भक्तजनहरु सहदेव मार्गबाट प्रवेश गर्दै नकुल मार्ग–अर्जुन मार्ग–भीम मार्ग र युधिष्ठिर मार्ग हुँदै जलार्पणको लागि भक्तजनहरु मुख्य मन्दिरतर्फ प्रवेश गर्ने छन् ।

गत वर्षभन्दा फरक ढंगले कार्यक्रमको आयोजना गरिएको धाममा यस वर्ष ४० हजार बढी भक्तजनहरुले जलार्पण गर्ने महासचिव खतिवडाले जानकारी दिएका छन् । जलार्पणको लागि नेपाल र छिमेकी देश भारतको विभिन्न राज्य आसाम, पश्चिम बंगाल, मनिपुरबाट भक्तजनहरु आउने गरेको बताइएको छ । 

भगवान शिवको उपासना गर्दा सम्पूर्ण मनोकामना पूर्ण हुने हुँदा श्रावणी पर्वको विशेष महत्व रहेको धामका मूलअर्चक अग्निप्रसाद सिग्देलले बताए । ‘यो वर्ष हरि र महादेवको संयोग परेको हुँदा हरिहरको मास अर्थात् पुरुषोत्तम महिना परेको हुँदा यस पटकको श्रावणी पर्वको विशेष महत्व रहेको छ ।’उनले प्रष्ट पारे ।

त्यसैगरी श्रावणी पर्वको अवधिमा राष्ट्र शान्ति र सम्पूर्ण प्राणीहरुको कल्याणको कामना गर्दै हरेक दिन महारुद्राभिषेक गरिने र साउन २ गतेदेखि एक महिनासम्म पुरुषोत्तम महात्मे कथा दैनिक ११ देखि १ बजेसम्म प्रवचन हुने बताइएको छ ।

  • प्रशिक्षार्थी पत्रकार