झापा । 

आज असार २९ गते नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँँदै छ। आज नेपाल तथा नेपालीभाषी रहेका स्थानमा आदिकवि भानुभक्त आचार्यको २१०औँ भानुजयन्ती मनाइदैछ । 

आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको थियो । धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए।

भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए। रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्।

तत्काल कविता रच्न सक्ने क्षमता भएका उनको निधन १९२५ मा भएको थियो। भानुजयन्तीको अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानलगायत स्वदेश र विदेशमा रहेका विभिन्न संघसंस्थाले कार्यक्रम गर्दैछन्।