झापा । 

दुई दिन यता परेको अविरल बर्षाका कारण झापाको जनजीवन प्रभावित बनेको छ । निरन्तर भारी बर्खाले जिल्लाका ठुला तथा साना नदीसँगै खोला, पैनी, नालीहरूमा पानीको सतह बढेपछि डुबान र कटानका कारण स्थानीयवासी प्रभावित बनेका छन् । 

झापा गाउँपालिका वाड नं १ मिलन बस्ती पूर्वको ३० घरधुरी र वाड नं २ सडकबारीको ३४ घरधुरी ठूलो कनकाई र सानो कनकाई नदिको बाढीले डुवान परेका छन् । कचनकवल गापा वाड नं ४ को वयरवन, पोक्लावान समुदायको एक सय घरधुरीमा मेची नदिको बाढीले बाँध भत्काएर गाउँमा पसेर क्षति गरेको छ ।  क्षतिको विबरण भने आइनसकेको जनाइएको छ ।

त्यस्तै अदुवा खोलामा पानीको जलस्तर बढेपछि बाह्रदशी गाउँपालिका– २ स्थित सुकुम्वासी बस्तीका ४५ घरधुरीका १५० जनालाई बिहीबार सुरक्षित स्थानतर्फ सारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्भावित हुने क्षतिलाई लक्षित गरी खोला आसपासका स्थानीयलाई बाह्रदशी– २ स्थित दक्षिणेश्वर शिवालय मन्दिरमा सारिएको डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

झापाको कनकाई, माई, रतुवा, विरीङ, मेची, हडिया, निन्दा, कमल, अदुवा, देउनियाँ लगायतको नदी तथा खोलाहरूमा पानीको बहाव बढ्न थालेपछि नदी तथा खोला आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन अलर्ट गराइएको छ । झापामा अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।