झापा ।
समाजवादी मोर्चाको बैठक मंगलबार (आज) ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर तीनकुनेमा बस्ने भएको छ ।
सातै प्रदेशमा गर्ने कार्यक्रमको तयारीबारे छलफलसहित समाजवादी मोर्चाले गठबन्धनको उद्देश्य र औचित्यबारे प्रकाश पार्न बैठक बस्न लागेको स्रोतले बताएको छ ।
समाजवादी मोर्चाले सदस्य दलहरूबाट एक–एकजना प्रतिनिधि रहेको एउटा कार्यदल पनि बनाएको थियो। मोर्चाको कार्यदिशा, समाजवादी आन्दोलनको स्वरूप तयार पार्न गठन गरिएको कार्यदलले तयार पारेको दस्तावेजमाथि पनि छलफल हुने जनाइएको छ ।
कार्यदलमा माओवादी केन्द्रका तर्फबाट महासचिव देव गुरूङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, जनता समाजवादीबाट राजेन्द्र श्रेष्ठ र नेकपाबाट खड्गबहादुर विश्वकर्मा सदस्य रहेका छन् ।