अर्जुनधारा । 

पूर्वको धार्मिक तथा पर्यटकीय स्थल अर्जुनधारा जलेश्वर धाममा झापाका पत्रकारसँग बिशेष पूजा भएको छ । पूर्वको पशुपति नाथको नामले समेत परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा सोमवार (आज) झापाका पत्रकारहरुसहित भगवान शिवजीको बिशेष पूजा आराधना गरिएको हो । 

पत्रकारसँग बिशेष पूजापछि धाम परिसरमा आयोजित कार्यक्रममा अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नबिन गट्टानीले धार्मिक तथा सांस्कृतिक अवस्था, विकास निर्माणको अवस्था, आर्थिक अवस्था, सामाजिक अवस्था र भावी योजनाका सम्बन्धमा जानकारी गराएका थिए । अध्यक्ष गट्टानीका अनुसार खडेबाबा पार्कलाई पूर्णता दिने कार्य भइरहेको छ । त्यस्तै सम्पदा तथा बिभिन्न जातजातीका भेषभूषा तथा संस्कृति झल्काउने सामाग्री संकलन गरी संग्रालय भवन निर्माण गर्ने उदेश्यसमेत रहेको उनले बताए । 

jaleswar dham

आगामी श्रावणी पर्वमा यस बर्ष पुरुषोत्तम मास परेकाले दैनिक कथा प्रवचन, शिवजीमा जलार्पण, रुद्राभिषेक, महाप्रसादको ब्यवस्था गरिएको पंडीत अग्नि सिग्देलले बताए । भक्तजनको सुबिधालाई मध्यनजर गर्दै यसबर्ष पालको ब्यवस्था गरिएको उनले जानकारी दिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले पनि आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन धामका सचिव शिव खतिवडाले गरेका थिए । कार्यक्रममा धामका कोषाध्यक्ष मनोज जोशी, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी राईलगायत झापाका पत्रकारहरुको उपस्थिति रहेको थियो । 

धामले एक हप्ताअघि अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुसँग पनि बिशेष पूजा गरेको जनाएको छ ।