बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ को प्रशासनिक भवन आइतवार (आज) उद्घाटन गरिएको छ । बिर्तामोड वडा नम्बर ७ स्थित पाथिभरा टोलमा नव निर्मित भवनको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद एकराज कार्की र बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरेका हुन् । 

यसअघि वडा नम्बर ७ को कार्यालय गरामनीमा संयुक्त रुपमा वडा नम्बर ८ र ९ सँगै एउटै भवनमा सन्चालन हुँदै आएको थियो ।स्थानियहरुले वडा कार्यालयको लागि १५ कट्ठा १० धुर जग्गा उपलव्ध गराएपछि नगरपालिकाले उक्त क्षेत्रमा २८ लाख रुपैयाँको लागतमा ४ कोठे पक्की भवन निर्माण गरेको हो ।

वडा कार्यालयको लागि जग्गा दिने दाताहरुमा प्रदिप खरेल, श्रीप्रसाद उप्रेती, भिम प्रसाद उप्रेती, तुलसीराम कडरिया, कृष्णप्रसाद भट्टराई, प्रदिप खनाल, चुडामणि बराल, डिकुरामदेवी रिजाल, काशी रिजाल, निलम पकुवाल लगायत रहेका छन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्कीले यस वडामा हात्तीको समस्या रहेकोले समस्या समाधानका लागि सवै तहका सरकार लाग्नु पर्ने बताए । उनले पुर्वपट्टीको क्षेत्रमा  ‘फेन्सिङ’ जडान गरिएपनि पश्चिम क्षेत्रमा यसको व्यवस्थापनमा जुट्नु पर्ने बताए । बिर्तामोडको वडा नम्बर ६,७ र ८ हात्ती प्रभावित क्षेत्र पर्दछ ।

कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले वडा कार्यालय सहजरुपमा सन्चालनका लागि भवन प्रयाप्त नभएपनि आगामी दिनमा यसलाई थप व्यवस्थित गर्दै लैजाने बताए । 

त्यस्तै कार्यक्रममा बोल्दै वडाअध्यक्ष अविरल कृष्ण खरेलले नयां भवनबाट वडाका सबै प्रशासनिक कार्य सुरु भएको जानकारी दिए। उनले वडा नम्बर ७ मा चुनावको समयमा मत माग्दा जनता समक्ष गरेका प्रतिवद्दता पुरा गर्दै जाने विश्वास समेत व्यक्त गरे । 

भवन उद्घाटन कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी ईन्चार्ज देवराज कार्की, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेल लगायत विभिन्न संघ संस्था तथा पार्टीका प्रतिनिधि र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।