बिर्तामोड ।
कोशी प्रदेशका मुख्य मन्त्री उद्वब थापाले विश्वासको मत प्राप्त हुने विश्वास ब्यक्त गरेका छन् । मुख्यमन्त्री थापाले नियुक्ती लिएर सपथ ग्रहण लिदासम्ममा धेरै उतारचडाव शुरु भइसकेको बताउँदै सवैको माया र सद्भावका कारण पनि बहुमतका साथ बिश्वासको मत लिने बताएका हुन् ।
नेपाली कांग्रेस झापाद्वारा शनिवार (आज) बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले आगामी एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने र आफूलाई प्रदेश सभामा विश्वासको मत प्राप्त हुने विश्वास ब्यक्त गरेका हुन् । उनले बहुमतका साथ विश्वासको मत लिने दाबी समेत गरेका छन् ।
‘३० दिनपछि विश्वासको मत प्राप्त भएपछि पदीय जिम्मेवारी शुरु हुनेछ’–थापाले भने ‘बहुमत प्राप्त भएपछि गठबन्धन दलको सरकारले ४ बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नेछ ।’
विश्वासको मत प्राप्त भएपछि जनअपेक्षा र स्थानीय आवश्यकताका आधारमा छलफल गरेर बजेटमार्फत सम्बोधन गर्ने उनले धारणा राखे । सबैको सद्भाव र इच्छाशक्तिका कारण आफू मुख्यमन्त्री बनेको र यो सबैको उपलब्धी भएको उनको भनाई थियो । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गरेका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल, गोमा भट्टराई, प्रदेशसभा सदस्य गोपाल तामाङ र लख्खीदेवी गणेश, नेपाली कांग्रेस कोशी प्रदेश समितिका सदस्यहरु, पार्टीका जिल्ला पदाधिकारी, सदस्य, स्थानीय तहमा कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका विभिन्न तहगत समितिका पदाधिकारी–सदस्य एवं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।