झापा ।
प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राजीनामा नदिएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने अडान राखेपछि शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक नबसी सूचना टाँसेर स्थगित भएको हो ।
प्रतिनिधि सभाको अवरोध हटाउन कार्य व्यवस्था परामर्श समितिको बैठक राखेपनि सहमति नजुटेपछि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलि सम्ममा सहमति गर्न आग्रह गर्दै स्थगित गर्न प्रस्ताव राखेका थिए । त्यसपछि बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री दाहालले गत असार १८ गते आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । सिंहको जीवन कथामा आधारित पुस्तक विमोचनमा प्रधानमन्त्री प्रचण्डले यस्तो अभिव्यक्ति दिएपछि एमालेले राजीनामा माग गर्दै आएको छ ।