काठमाडौं । 

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।

उनले केही आन्तरिक व्यवस्थापन गर्नुपर्ने भएकाले ३ बजे प्रकाशित गर्ने भनिएको एसईईको नतिजा प्रकाशित गर्न आधा घण्टा लाग्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।