झापा ।

हल्दिबारी गाउँपालिकाले विपन्न वर्गका नागरिकहरुका लागि निर्माण गरेको १३ वटा पक्की घर बुधवार (आज) हस्तान्तरण गरेको छ । तीन  वर्षअघि तयार भएको उक्त घर हस्तान्तरण भएको हो। घर पाएपछि विपन्न परिवारहरु हर्षित भएका छन् ।

अति विपन्न, पिछडिएको जाति, दलित, अल्पसंख्यक, अपाङ्ग, एकल महिला, बृद्धबृद्धालाई प्राथमिकतामा राखेर हल्दिवारी गाउँपालिकाले घर हस्तान्तरण गरेको हो । घर पाउने १३ परिवार मध्ये सन्थाल समुदायका ९ परिवार छन् । त्यस्तै दलित समुदायका ३ र खस क्षेत्री समुदायका एक परिवार छन् । घर पाउनेहरुमा मराङमाई हेमरम, भीमबहादुर कामी, विश्वनाथ हास्दा, धनबहादुर विश्वकर्मा, लालबहादुर विश्वकर्मा, लुखीराम मुर्मू, नारायण हेमरम, विशाल हास्दा ,सुनिराम सोरेन, जसमी किस्कू, एकराज कट्वाल, सुकमणि मुर्मू र हपना हास्दाको परिवार रहेका छन् ।

उनीहरुले शौचालय, बिजुली, खानेपानीलगायतका सुविधा भएको तीन कोठे पक्की घर पाएका हुन् । प्रदेश सरकारको सहयोगमा हल्दिबारी गाउँपालिकाले वडा नं २ स्थित जनता प्राविको जग्गामा ५८ लाख ५८ हजार ७७७ रुपैयाँमा ती घर निर्माण गरेको हो । जय इश्वरी निर्माण सेवाले २०७६ पुष ६ गते संझौता गरी २०७८ असार २० गते निर्माण कार्य सम्पन्न गरेको थियो । निर्माण भएको तीन वर्षपछि ती घर विपन्न नागरिकहरुलाई हस्तान्तरण गरिएको हो ।

विपन्न नागरिक आवास हस्तान्तरण कार्यक्रममा घर पाउने परिवारलाई घरको चाबी र संझौतापत्र हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले विविध कारणले घर हस्तान्तरण कार्यमा ढिलाई भएको बताए । उनले आवाससँगै ती परिवारका लागि रोजगारीको व्यवस्था गर्न समन्वय गर्ने प्रतिवद्धता जनाए । साथै उनले ती सबै परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा समेत गरे । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले नमूना बस्तीको रुपमा गाउँपालिकाले तयार गरेको घरहरुलाई आफ्नै सम्झेर स्याहार गर्न आग्रह गरिन् ।

कार्यक्रममा वडा नं २ का वडाध्यक्ष शुकलाल राजवंशी, नेकपा माओवादी केन्द्रकी टीका राउतले गाउँपालिकाले निर्माण गरिदिएको आवासले विपन्न परिवारलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । हल्दिवारी गाउँपालिकाले अर्को चरणमा थप आठ परिवारका लागि आवासको व्यवस्था गर्न लागेको जनाइएको छ । जनता प्राविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीम मगरले स्वागत गरेको कार्यक्रमको संचालन गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।