बिर्तामोड । 

आन्दोलनरत   पहिचानवादीहरूले झापाका बिभिन्न सरकारी कार्यालयहरूमा राखिएको  बोर्डमा लेखिएको कोशी प्रदेश नाम मेटाएका छन् ।  कोशी प्रदेशको पुनः नामकरणको मागसहित आन्दोलित पहिचानवादीले आइतबार(आज) बिर्तामोड नगरसहित  नगरका विभिन्न वडा कार्यालय साथै झापाका सरकारी कार्यालयमा रहेका बोर्डमा लेखिएको कोशी प्रदेश मेटाएका हुन् । 

उनीहरुले यातायात व्यवस्था कार्यालय, खानेपानी तथा सरससफाई डिभिजन कार्यालय झापा, कृषि ज्ञान केन्द्र, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, कृषि विकास बैंक, भूमिसुधार तथा मालपोत कार्यालय, जिल्ला आयुर्वेद कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कलबलगुडीस्थित अनुसन्धान केन्द्र कार्यालयको  साइन बोर्डमा लेखिएको कोशी प्रदेश नामलाई मेटाएका हुन् । 

पहिचानबादीले कोशी प्रदेश लेखको ठाउँमा लेखिएको ठाउँमा कालो रङले पोतेर १ नम्बर प्रदेश लेखेका छन् । कार्यालयहरूको भित्तामा टाँसिएको कोशी प्रदेश लेखिएको जनचेतनामूलक पोस्टर समेत सो समूहले च्यातेर फालेका थिए ।  प्रदेशसभाको बहुमतले कोशी प्रदेश नामकरण गरेपछि पहिचानवादी निरन्तर रुपमा आन्दोलन गर्दै आएका छन् ।