मेचीनगर ।
अवैध रूपमा नेपाल पैठारी गर्दै आएका पोके ब्यापारीलाई कार्वाही गर्दा करिब १ करोड ३० लाख रुपैयाँ बराबरको सामान भन्सार दाखिला गर्न सफल भएको छ । सशस्त्र प्रहरीले सिमामा चेकजाच गर्ने क्रममा बरामद गरी मेची भन्सार कार्यालयमा बुझाएको हो ।
अढाई महिनाको अवधिमा भारतबाट राजश्व छलेर ल्याइएका सामान बरामद गरी मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको सशस्त्र प्रहरी गुल्मका प्रमुख डिएसपी निर्मलकुमार थापाले जानकारी दिए । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाले गत बैशाखबाट गुल्मको कमाण्ड सम्हालेका थापाको टोलीले उक्त सामान बरामद गरेर भन्सार बुझाएको हो ।
सीमाबाट हुने अवैध सामानको ओसारपसार रोक्न निकै कसिलो सुरक्षा तथा चेकजाँच गरेपछि यो परिमाणमा सामान बरामद गरेको हो । सीमा नाकामा कडाइ गर्न थालेपछि निकै विवादको सामना गर्दै आएको डिएसपी थापा बताउँछन् । यस अवधिमा सशस्त्र प्रहरीका दर्जनौ जवानदेखि सिनियर अफिसरसमेत निलम्बन र कारबाही परेका छन् ।
अढाई महिनाको अवधिमा अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको लत्ता कपडा, हार्डवयर, किराना सामानहरु, मोटरपार्टस, मरिच बरामद गरेको थियो । उक्त सामान मेची पुल, भन्सार चेकपोस्ट, जोर सिमल, सतिघटटा, पिंकीठ्याक, दुर्गा मन्दिर, नकलबन्दालगायतका सीमा नाकाबाट बरामद गरेको डिएसपी थापाले बताए ।
सिमा चेकपोस्टमा शसस्त्र प्रहरीले चेकजाचमा कडाई गरेपछि भारतको सामान नेपाल भित्र्याएर दैनिकी गुजारा चलाउदै आएका सिमा ब्यापारीहरुले संघर्ष गर्दै आएका छ्न् । थोरैतिनो सामान ओसारपसार गर्न पाउनुपर्ने भन्दै शसस्त्र प्रहरीसंग उक्त माग गर्दै आएका छन् । सिमामा खटेका प्रहरीले अनुशानमा रहेर भन्सार छ्ली गरेर अबैध सामान ओसारपसार गर्न नमिल्ने भन्दै घरायसी प्रयोजनका वस्तुबाहेकका सामान नियन्त्रणमा लिने थापाको भनाई छ ।