बिर्तामोड ।
साहित्य चौतारी झापाले मासिक सांगीतिक काव्यसभा आयोजना गरेको छ । गायक पदम कन्दङ्वाको प्रमुख आतिथ्यमा चौतारीले काव्यसभा आयोजना गरेको हो । साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा आयोजित काव्यसभामा राष्ट्रिय धान दिवससँग सम्वन्धित असारे भाका पनि गुञ्जिएको थियो । शनिवार भएको काब्यसभामा सुसेली कला केन्द्र नौमती बाजा समूहका महिलाले असारे भाका प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले दर्जनौँ कलाकर्मी र स्रष्टा जन्माएको साहित्य चौतारीले नयाँ र पुराना प्रतिभालाई एकैठाउँमा सहभागी गराएर सिक्ने र सिकाउने मौका दिइरहेको बताए । रजत वर्ष प्रवेश गरेको साहित्य चौतारीले असार ३१ गते भानु जयन्ती भव्य रुपमा मनाउने निर्णय पनि गरेको संरक्षक श्रेष्ठले जानकारी दिए । कार्यक्रममा उनले रामायण बाचन गरेका छन् ।
कार्यक्रममा साहित्य चौतारीका सल्लाहकार अनिरुद्र ओली र राजेन्द्र संग्रौला, विद्यालयमा साहित्य चौतारी अभियानका संयोजक भानुभक्त कुभिण्डेली लगायतको आतिथ्य रहेको थियो । सचिव खगेन्द्रा खुशीले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने उपाध्यक्ष कृष्ण सुवेदी निराकरले स्वागत गरेका थिए । काव्यसभामा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रतियोगीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
- पत्रकार निरौलाको उपचारका लागि ११ हजार सहयोग
साहित्य चौतारी झापाले पत्रकार तुलसी निरौलाको उपचारका लागि ११ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले शनिवार आयोजित मासिक साङ्गीतिक काव्य सभाको अवसरमा यो घोषणा गरेका हुन् ।
संरक्षक श्रेष्ठले पत्रकार निरौलाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारका लागि साहित्य चौतारीका तर्फबाट सहयोग गर्न लागिएको बताए ।
मुटुमा समस्या देखिएपछि पत्रकार निरौला साताअघिदेखि काठमाडौँमा उपचार गराइरहेका छन् । नियमित फलोअपमा रहनु पर्ने भएका कारण निरौलाको काठमाडौँ बसाइ लम्बिने भएको छ ।