हल्बिारी ।
एउटा भएको सन्तानलाई प्राणघातक रोग क्यान्सर लागेपछि अति विपन्न परिवार आर्थिक अभावले चिन्तित बनेको छ । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर २ स्थित गंगा बस्तीका इन्द्रबहादुर र सावित्री तामाङको एक मात्र अबिवाहित ३८ बर्षिय युवा छोरा सुशिल तामाङलाई क्यान्सर रोग लागेपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।
ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको तामाङ परिवारमा एउटा भएको छोरो सुशिल बिरामी भएपछि अहिले परिवारमा रुवाबासी चलेको छ । आर्थिक अवस्था एकदमै नाजुक भएको तामाङ परिवारले ऋणपान गरेर अहिलेसम्म छोराको उपचारमा १२/१३ लाख रुपैयाँ खर्च गरिसकेको जनाएको छ ।
सम्पत्तीको नाममा १० धुर जग्गा र सानो झुपडी मात्र भएका तामाङ दम्पत्तिले छोराको जीवन बचाइदिन सवै समक्ष अपिल गरेका छन् ।
सुशिलको रोजगारीको सिलसिलामा भारतमा रहँदा छात्ती दुखेको र सामान्य औषधि लिदै आएका उनले एक बर्षअघि भारतमै परिक्षण गर्दा छात्तीमा क्यान्सर भएको चिकित्सकहरुले बताएको उनले जानकारी दिए ।
भारतबाट घर फर्केर आएर बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा परिक्षण गराउँदा पनि क्यान्सर नै भएको पुष्टि भएको उनकी आमा साबित्राले बताइन् । उनका अनुसार क्यान्सर रोग फष्ट स्टेजकै भएकाले करिब ५ लाख रुपैयाँ भए उनको क्यान्सर रोग निको हुने अस्पतालले बताएको छ । तर, आफुसँग भएको र ऋणपान गरेर १२/१३ लाख खर्च गरिसक्यौ’ आमा साबित्राले भनिन् ‘अव ५ लाख जती भए छोरो ठिक हुने डाक्टरले सल्लाह दिएपनि आर्थिक जुटाउन सकेका छैनौं ।’
गंगामाया नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्था बिर्तामोड–४ ले शनिवार (आज) तामाङ परिवारकै घरमा पत्रकार सम्मेलनको आयोजना गरी सुशिलको उपचारमा सहयोग गर्न सवैलाई आग्रह गरेको छ । संस्थाका अध्यक्ष भूपाल बस्नेतले पत्रकार सम्मेलनकै क्रममा हल्दिबारी वडा नम्बर २ का वडाध्यक्ष सुकलाल राजबंशीको नेतृत्वमा वडा नम्बर २ भरी आर्थिक संकलन गरेर उनको उपचारका लागि सहयोग गर्न सवैमा अपिल गरे ।
संस्थाका अध्यक्ष बस्नेतले सहयोगी मन भएका देश तथा बिदेश रहेका सम्पूर्णमा बिरामीकी आमा साबित्रा तामाङको नाममा रहेको सिटिजन बैंकको हल्दिबारी शाखाको खाता नम्बर ०६३०१००००४४१५०४१ मा सकेको आर्थिक सहयोग गरि सुशिलको जीवन बचाइदिन समेत आग्रह गरेका छन् ।
हल्दीबारी २ का वडाध्यक्ष राजवंशीले वडाको सिफारिसमा गाउँपालिकाले गर्ने सहयोग यसअघि पनि गरेको र त्यो प्रयाप्त नभएको बताए । उनले आफुले सकेको साथ तथा सहयोग गर्ने आश्वसन दिदै सवैलाई सहयोग गरेर सुशिलको जीवन बचाइदिन आग्रह समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा वडा सदस्य अम्बिका तोलाङ्गी, स्थानीय गंगाप्रसाद प्रसाई, क्यान्सर पिडीत सहयोग संस्था सह–सचिव कुमार याक्सो, सञ्चालक समिति सदस्य झुमा कार्कीलगायतको उपस्थिति रहेको थियो ।