चारआली ।
झापामा बिपद् ब्यवस्थापन तथा न्युनिकरणका लागि शुरु भएको पाँच दिने ‘अभ्यास हातेमालो–५’ कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा हुने वाढी, पहिरो, डुवान, आगलागी तथा भुकम्प जस्ता विपद्का समयमा जनधनको क्षतिको न्यूनिकरण एंव उद्धार र राहत कार्यमा विपद् व्यवस्थापनसँग सम्बद्ध सम्पुर्ण निकायहरु समन्वयातमक ढंगबाट परिचालन गर्न गत असार ११ गतेदेखि शुरु भएको अभ्यास हातेमालो–५ शुक्रवार सम्पन्न भएको हो ।
विपद् व्यवस्थापनसँग समन्वय निकायहरुको काम, कर्तव्य, जिम्मेवारी, क्षमता र तयारीको बारेमा एक आपसमा जानकारी आदान–प्रदान गर्ने उदेश्यले नेपाली सेनाको झापा स्थित श्री अरिदमन गण चारआली ब्यारेक कार्यक्रम शुरु भएको थियो ।
नेपाली सेनाले प्रत्येक वर्ष संचालन गर्दै आएको संयुक्त अभ्यास हातेमालो यसवर्ष गत जेष्ठ ७ र ८ गते २ दिन नेपाली सेनाको जंगी अड्डामा संचालन भएको थियो ।
साथै गत जेष्ठ २८ र २९ गते प्रदेश स्तरीय अभ्यास हातेमालो सुनसरी स्थित नेपाली सेनाको पूर्वी पृतना हे.क्वा.मा भएको थियो भने हाल झापा जिल्ला स्तरिय अभ्यास हातेमालो–५ श्री अरिदमन गण चारआली व्यारेक झापामा सञ्चालन भएको हो ।
हातेमालो अभ्यास–५ कार्यक्रममा सहभागिहरुलाई श्री अरिदमन गणका गणपति प्रमुख सेनानी श्री ईमेश मेहर श्रेष्ठले स्वागतसहित अभ्यासबारे जानकारी गराएका थिए । झापा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल कार्यक्रमको समापन गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय झापा, नेपाली सेना, सशस्त्र प्रहरी वल नेपाल, नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान विभाग, विपद् व्यवस्थापन समितिका कलस्टर प्रतिनिधि, रेडक्रस सोसाईटी झापा, मेचीनगर नगरपालिका, नेपाल स्काउट, झापा जिल्ला स्थित इम्पेनल स्कुलका बिद्यार्थीहरु, स्थानिय तहका विपद् सम्बन्धी फोकल प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।