झापा ।
आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइदै छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय धान दिवस मनाइदै छ । आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन पनि छ ।
नेपालमा धानखेतीका लागि तराई र भित्री मधेस तथा पहाडका फाँटलाई उर्वरभूमि मानिन्छ । पछिल्लो समय उन्नत जातको धानखेतीका लागि सरकारले कृषकलाई प्रोत्साहन गरेको छ भने रैथाने पुराना बीउ प्रवर्द्धनमा पनि जोड दिँदै आएको छ ।
नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन शुरु गरिएको हो ।
त्यसैगरी आज असार १५ गतेलाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउने गर्छन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ ।