मेचीनगर ।
झापाको मेचीनगर नगरपालिकाले अनियन्त्रित रुपमा प्रशासनिक खर्च गरेको पाइएको छ । नगरले चालु आर्थिक वर्षमा गर्नुपर्ने प्रशासनिक खर्च मध्ये इन्धनमा तीनवटा शीर्षकबाट लाखौं रुपैयाँ खर्च गर्ने अनुमानित बजेट सार्वजनिक गरेको छ । असार १० गते सम्पन्न दोश्रो नगर सभाको तेस्रो अधिबेशन कार्यक्रममा जारी गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित बजेट नीति तथा कार्यक्रम पुस्तिकामा उल्लेख छ ।
आगामी दिनमा फजुल खर्च कटौती गर्ने नगरको योजना रहेको उल्लेख छ । तर, अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा स्वीकृत गरेको तीनवटै शीर्षकको सवारी इन्धन खर्च ३१ लाख ५० हजार छ । उक्त इन्धनको बजेट पूर्वमेयर बिमल आचार्यको कार्यकालको हो । तर, सोही वर्षको तीनवटै शीर्षक ९२०७८/०७९ यथार्थ० को सवारी इन्धन खर्च वापत ७० लाख ९३ हजार १ सय ६३ दशमलब १३ रुपैयाँ हाल जारी गरेको पुस्तिकामा उल्लेख छ । एउटै वर्ष स्वीकृत गरिसकेको बजेटमा दोब्बरभन्दा बढी रकमले इन्धन शीर्षकमा खर्चको अनुमानित विवरण उल्लेख छ ।
आब २०७८/०७९ वा बिमल आचार्यको पालामा मेयर र उपमेयर शीर्षकमा इन्धन खर्च १५ लाख रुपैयाँ स्वीकृत गरेको पुस्तिकामा उल्लेख छ । तर, वर्तमान मेयर गोपाल बुढाथोकीले (२२२११) शीर्षकमा १८ लाख २७ हजार ८ सय ४२ रुपैयाँँ ९२ पैसा इन्धन खर्च गरिसकेको हाल जारी गरेको पुस्तिकमा उल्लेख छ । उक्त रकम पूर्वमेयर आचार्यले स्वीकृत गरेको रकमभन्दा ३ लाख २७ हजार ८ सय ४२ रुपैयाँँ ९२ पैसाले बढी हो ।
त्यसैगरी, कार्यालय कर्मचारी इन्धन (२२२१२) शीर्षकमा १५ लाख रकम मेयर आचार्यले इन्धन खर्च गर्न पाउने स्वीकृत गरेको छ भने सोही वर्ष ५१ लाख २१ हजार १४ रुपैयाँ १५ पैसा इन्धन यथार्थ खर्च भएको पुस्तिकामा देखाइएको छ । अन्य इन्धन खर्च (२२३१४) मा १ लाख ५० हजार स्वीकृत भएकोमा १ लाख ४३ हजार ५ सय ४३ रुपैयाँ खर्च भएको यथार्थ विवरण उल्लेख गरिएको हाल जारी गरिएको २०८०/०८१ को नगर बजेट नीति तथा कार्यक्रम पुस्तिकामा उल्लेख छ ।
नगरले पदाधिकारीलाई आब २०८९/०८० मा इन्धन खर्च वापत ३६ लाख ८० हजार, कार्यालय प्रयोजनतर्फ ४० लाख, अन्य इन्धन प्रयोजमा १० लाख ५० हजार रुपैयाँको अनुमानित बिवरण पेश गरेको छ । सोही अनुरुप २०८०/०८१ सालका लागि पदाधिकारीलाई इन्धन खर्च वापत ३० लाख रुपैयाँ, कार्यालय प्रयोजनतर्फ ५५ लाख ७५ हजार र अन्य इन्धन प्रयोजमा ६ लाख २५ हजार रुपैयाँको अनुमानित खर्चको बिवरण उल्लेख गरेको दोश्रो नगरसभाको तेस्रो अधिबेशन कार्यक्रममा नगरकी उपमेयर मीना उप्रेती पोख्रेलले सार्वजनिक गरेको आर्थिक वर्ष आब २०८०/०८१ को प्रस्तावित बजेट नीति तथा कार्यक्रम पुस्तिकामा उल्लेख छ ।
श्रोतका अनुसार अघिल्लो आवको आधारमा कर्मचारीको संख्यामा वृद्धि र इन्धनको मूल्यवृद्धिमा १ देखि डेढलाख फरक परे पनि अन्य इन्धन प्रयोजन अनियन्त्रित र अनाधिकृत रुपमा बढ्नुले नगरपालिकामा विलासी वस्तु उपयोगतर्फ खर्चभार बढेको छ । संघीय र प्रदेश सरकारले बजेट घटाएर पठाएपनि कार्यालयको प्रशासनिक खर्च बढाएको छ भने नगरका १५ वटा वडामा प्रतिवडा ४० लाख रुपैयाँ वजेट घटाउने निर्णय गरेको छ ।
नगरले गरेको उक्त निर्णयप्रति सबै वडा अध्यक्ष र सदस्यहरु खुसी देखिएका छैनन् । नगरसभाका लागि ११ लाख, सवारी पार्किङ लागि ४० लाख अनुमानित खर्च गर्ने नीति लिएको नगरपालिको पुस्तिकामा उल्लेख छ ।
- प्रेस क्बल आन्दोलित
नगरले पत्रपत्रिका, अनलाइल तथा रेडियो, टेलिभिजनलाई लोककल्याणकारी शीर्षकमा छुट्याएको वजेटअनुसार सुचिकृत भएका सञ्चार माध्यमको भुक्तानी रोकेको छ । गत आवमै नगरले ३३ लाख रुपैयाँ लोक कल्याणकारी शीर्षकको भुक्तानीका लागि रातो किताबमा उल्लेख गरेको थियो । तर, नगरले उक्त शीर्षकको वजेट नभएको भन्दै भुक्तानी गर्न आलटाल गरेपछि मेचीनगर प्रेस क्लबले बुधबार नगरका मेयर र उपमेयरलाई सञ्चारमाध्यमप्रति अनुदार रहेको भन्दै ज्ञापनपत्र बुझाएको छ ।