सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले चैते धान  रोप्ने कृषकलाई प्रोत्साहन स्वरूप राहत रकम दिन शुरु गरेको छ। नगर भरि  सबै वडाका चैते धान  रोप्ने कृषकहरुलाई प्रोत्साहन स्वरूप राहत  रकम दिन शुरु गरेको नगर कृषि शाखाले जनाएको छ। नगरको  सभाहलमा वडा नं. १ का  कृषकहरुलाई  राहत रकम प्रदान गर्दै नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगर पालिका सधैं कृषको साथमा रहेको बताए ।

चैते धान  रोप्ने नगरबासीलाई केही मात्रामा भए पनि स्थानीय सरकारको प्रत्याभूति होस् भनेर राहत रकम प्रदान गरिएको उनको भनाई थियो । ‘बजेट अभावमा नगरका धेरै काम हुन सकेको छैन’ उनले भने ‘तरपनि नगर तथा वडाको बजेटलाई प्राथमिकतामा राखेर सकेसम्म जनताका आवश्वकयता पूरा गर्न लागिपरेका छौं ।’ 

उनले अघिल्लो साल त्यस्तो सुरुवात नगरेपनि यो पटकबाट भने गाउँघरमा  स्थानीय सरकार भएको अनुभव दिलाउने गरि उत्पादनमा जोड दिन समेत यो वर्ष कृषि छेत्रलाई विशेष प्राथमिकतामा राखी बजेट बिनियोजन गरेको गरेको बताए। यसअघि पनि नगरले  किसानलाई निःशुल्क धानको बिउ उपलब्ध गराएको थियो । नगरप्रमुख पोखरेलले चैते धान रोप्ने कृषकहरुलाई  राहत रकम हस्तान्तरण गरेका थिए ।  

यसअघि पनि नगर तथा वडाले  हावाहुरीसहितको असिनाले घरमा क्षति पुगेका परिवारलाई थोरै भए पनि राहत होस् भनेर राहत रकम नगद प्रदान गरिएको वडाध्यक्ष सुशीलकुमार पोखरेलले बताए।

वडाध्यक्ष पोखरेलको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, विशिष्ठ अतिथि कृषिशाखा प्रमुख यदुकुमार उप्रेती, कृषि अधिकृत प्रियंका गौतम, वडा सदस्य निर्मला खड्का, हरिकुमार राई, दलबहादुर थापा, संजिता घतानी ल्वागुन, कर्मचारी अङ्किता खड्का, निर्मला बानियाँ लगायतको उपस्थिति रहेको थियो ।

वडाका ८७ घर परिवारलाई प्रोत्साहन रकम प्रदान गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै वडाध्यक्ष पोखरेलले आर्थिक वर्षको बजेट केही कमि भएपनि  कृषि लगायत सबै छेत्रमा प्राथमिकता राखी वडाको बजेट विनियोजन गरेको जानकारी गराए। कृषिशाखा प्रमुख उप्रेती, अधिकृत गौतम लगायतले शुभकामना राखेको कार्यक्रमको स्वागत वडा सदस्य हरिकुमार राई र सन्चालन वडा सदस्य निर्मला खड्काले गरेकी थिइन् ।