विर्तामोड। 

नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं मुस्लिम नेता अब्दुल सतारले जनगणनामा मुस्लिम धर्मावलम्बीको जनसंख्या घटाइएको दावी गर्दै यसलाई सच्याउन नेपाल सरकारसँग माग गरेका छन् ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघ झापाको तेस्रो जिल्ला अधिवेशनलाई विर्तामोडमा सम्बोधन गर्दै नेता सतारले पछिल्लो जनगणनामा देखाइएजस्तो मुस्लिम धर्मावलम्बीको संख्या ४ प्रतिशतमा सिमित नरहेको र मुस्लिमहरुको संख्या ९.८२ प्रतिशत रहेको दावी गर्दै त्यसलाई कायम गर्न सरकारसँग माग गरेका हुन् ।

नागरिकता नपाएर अफ्ठ्यारो भोग्ने नेपालीमध्ये सबैभन्दा बढी मुस्लिम धर्मावलम्बी भएको दावी गर्दै उनले नेपालका मुस्लिमहरु यहाँका आदिबासी रहेको समेत दावी गर्नुभयो । नेपाली कांग्रेसकै पहलमा नागरिकता विधेयक पारित भएपछि अब जन्मसिद्धका आधारमा धेरैले नागरिकता पाउने उनको भनाई थियो ।

कार्यक्रमका विशेष अतिथि नेपाल मुस्लिम सङ केन्द्रीय समितिका कार्यबाहक अध्यक्ष अताबुल मन्सुरीले संघले गरेका गतिविधिहरुका बारेमा जानकारी दिदै मुस्लिमहरुको हकहितमा गरेका कार्यको विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले नेपाली काङ्ग्रेसको मुस्लिम एवं सबै जातजातिलाइ हेर्ने दृष्टिकोण सकारात्मक रहेको  धारणा राखे ।

जन्मसिद्धका आधारमा नागरिकता दिने निर्णय सकारात्मक रहेको र यसले नागरिकता बिहिन थुप्रै जन्मसिद्ध आदिबासी– मुस्लिम  नेपाली नागरिकले नागरिकता पाउने नेता थेवेको भनाई थियो ।