हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिकाको १५ औं गाउँसभा अधिवेशन आइतबारबाट शुरु हुने भएको छ । भोली बस्ने गाउँसभाले आव २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ। वार्षिक नीति तथा कार्यक्रममा छलफल शुरू हुने, विभिन्न ऐन कानुन पेश हुने गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेबी मैनालीले जानकारी दिइन् ।
यस पटक बजेट घटेर आएकाले गाउँपालिकाले वडाको बजेट घटाउने तयारी गरेको बुझिएको छ। उपाध्यक्ष मैनालीका अनुसार यसपटक पालिकाले वडा नम्बर १ र २ लाई ३५ लाख रूपैयाँ का दरले र वडा नम्बर ३, ४ र ५ लाई २७ लाख रूपैयाँका दरले सिलिङ बजेट दिने तयारी गरिएको छ। पुरानो वहुबर्षिय आयोजनाको काम र भुक्तानी दायित्व सक्ने गरी नीति कार्यक्रम तथा बजेट आउने जनाइएको छ।
यसअघिको आर्थिक बर्षमा पालिकाले हल्दिबारी १ र २ लाई ४५ लाखका दरले र ३, ४ र ५ नम्बर वडालाई ३५ लाख रुपैयाँका दरले सिलिङ बजेट प्रदान गरेको थियो । यस बर्ष बजेट घटेर आएकाले वडाको सिलिङ बजेट पनि घटेको उपाध्यक्ष मैनालीले बताइन् ।