पाँचथर ।
पाँचथरमा बाढी र पहिराका कारण एक सय १९ घर परिवार प्रभावित भएका छन् । सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्क अनुसार चार स्थानीय तहका बाढी पहिराका कारण जिल्लाका एक सय १९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका हुन् । बाढी र पहिराका कारण १४ घर पूर्ण रूपमा विस्थापित भएका छन् ।
पूर्ण विस्थापित हुने जिल्लावासीको सङ्ख्या ५९ छ । यस्तै जिल्लाका ८६ घर बाढी पहिराको उच्च जोखिममा छन् । उच्च जोखिममा परेका ८६ परिवारका चार सय २५ नागरिक पनि विस्थापित बनेका छन् । त्यस्तै बाढी पहिराका कारण १९ घरमा आंशिक क्षति पुगेको छ, जसकारण ९० जना नागरिक प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिए । जिल्लामा हाल कूल पाँच सय ७४ नागरिक आफ्नो घरबाट विस्थापित बनेको जनाइएको छ।
बाढीले ६ वटा पक्की पुल बगाएको छ । यस्तै एउटा बेलिब्रिज, आठ वटा झोलुङ्गे पुल र एउटा फलामको ट्रस पनि बाढीले बगाएको छ । पुलमा क्षति भएपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड, तमोर कोरिडोरको माझीटार–ताप्लेजुङ खण्ड, मध्यपहाडी लोकमार्गको ओयाम–च्याङथापू खण्ड अवरुद्ध भएका छन् । दर्जनौँ ग्रामीण सडकको सवारी आवागमन प्रभावित बनेको छ।
जिल्ला दैवी प्रकोप समितिले बाढी पहिराका कारण विस्थापित सबै परिवारसम्म राहत सामग्री पुर्याएको छ । पूर्णविस्थापित परिवारका लागि लामो समय उपयोग गर्न सकिने पाल पनि जिल्ला आइपुगेको र भोलिदेखि वितरण थालिने भएको छ । बाढी पहिराले हालसम्म एउटा विद्यालय, तीन वटा गोठ, ४६ वटा चौपाया बगाएको तथ्याङ्क सङ्कलन भएको छ । बाढी पहिराका कारण जेसीबी मेसिन दुई वटा, एउटा ट्र्याक्टर, एउटा मोटरसाइकल, एउटा स्काभेटर र एउटा क्रसर मेसिन पनि बगाएको छ ।
बाढी पहिराका कारण यहाँका हजारौँ रोपनी क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको छ । बालीमा पुगेको क्षतिको विवरण सङ्कलन भने भइसकेको छैन । पाँचथरमा पहिरोले एक बालिका तथा बाढीले एक महिला र एक पुरुषको ज्यान गएको छ । बाढीमा परी अझैसम्म तीन जना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य जारी रहेको र यसमा तमोर नदीको सीमावर्ती जिल्लाका सुरक्षा निकायसँग समेत समन्वय भइरहेको बताइएको छ ।