सङ्खुवासभा । 

सङ्खुवासभामा बाढी–पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको बाढीपहिरोले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो । लगातारको वर्षासँगै आएको बाढी पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी –किमाथाङ्का सडक ठप्प भएको हो । 

गए राति वर्षासँगै आएको  पहिराले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का  सडकखण्ड अवरुद्ध भएको उत्तर–दक्षिण कोशी सडक कार्यालयका प्रमुख सविन कोइरालाले जानकारी दिए । उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ । मकालु गाउँपालिका–५ को मुढे र मकालु–३ मा पहिरो खसेको छ । 

मकालु गाउँपालिका–५ मा मुढे पहिरो हटाउन थालिएको सडक कार्यालयका प्रमुख  कोइरालाले बताए । अहिले पनि त्यस क्षेत्रमा निरन्तर वर्षा पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख कोइरालाले बताएका छन्। पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुनसकेको छैन । सडक अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । पहिराका कारण सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने दजनौँ सवारी बीचबाटैमा अपलत्र परेका छन् ।

सङ्खुवासभामा बाढीपहिराका कारण हालसम्म १७ घरपरिवार विस्थापित भएका छन् । गत शनिबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका १७ घरपरिवार विस्थापित भएका हुन् । 

गत शनिरबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका २० जना अझै बेपत्ता छन् । बाढीपहिराबाट बेपत्ता भएकाको खोजीकार्यमा वर्षाका कारण समस्या भएको छ ।  अहिले पनि त्यस क्षेत्रमा वर्षा भइरहेको छ । बाढीपहिराबाट २० जनामध्ये १६ जना सुपर हेवाखोला हाइड्रोपावरका, अपर हेवाखोला जलविद्युत् आयोजनाका एक जना, अमर कन्ट्रक्सनका एक जना र सभाखोपरी गाउँपालिकामा दुई जना बेपत्ता भएका छन् । 

बाढीपहिराका कारण जिल्लाका आठवटा हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीले दुईवटा पक्की पुल बगाएको छ भने एउटा पक्की पुलमा आंशिक क्षति पुगेको छ । बाढीले भौतिक संरचना बगाउँदा करोडौं रुपैयाँको क्षति भएको छ ।