बिर्तामोड ।
नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का संरक्षक तथा पूर्व प्रतिनिधी सभा सदस्य रेशमलाल चौधरीले पहिचानबादी पार्टी एक भए मात्र पहिचान स्थापित गर्न सकिने बताएका छन् ।
आफ्नै देशमा पहिचान खोज्दा साढे आठ बर्ष जेल जीवन बिताउनु परेको बताउँदै नेता चौधरीले पहिचानबादी एक भए अभियान २०८४ मा पार्टी सवैभन्दा ठूलो हुने बताएका हुन् ।
नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले झापाको बिर्तामोडमा आयोजना गरेको स्वागत, सम्मान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका संरक्षक चौधरीले पहिचानबादीलाई एक हुन आग्रह गरेका छन् ।
‘आन्दोलन सकिएको छैन, भदौदेखि स्थगित थियो’ नेता चौधरीले भने ‘पहिचानबादी दलहरु भावना साटेर अघि बढे आगामी दिनमा पार्टीको यात्रा राम्रो छ ।’ कैलालीको टीकापुरबाट जन्मिएको पार्टी झापासम्म आइपुगेको बताउँदै नेता चौधरीले पहिचानबादीहरु एक भए नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय पार्टी हुने जिकिर गरे । ‘हामी सालको खम्वा गाडेर देश जोगाउने भुमीपुत्र हौं’ नेता चौधरीले भने ‘माटो कुन ठाउँको हो सुघेर थाहा पाउने भूमिपुत्रका सन्तान हामी पहिचानको आवाज उठाउँदा देशद्रोही बनाइन्छ ।’
नेता चौधरीले पहिचानकै आन्दोलनमा २०७२ सालको भुङ्ग्रोले राजनीतिक यात्रासँगै आफ्नो सम्पूर्ण श्रीसम्पत्ती गुमाएको बताए । उनले झापाका भूमिहीन तथा सुकुम्वासीलाई लालपूर्जाका लागि पहल गर्ने आश्वसन समेत दिएका छन् ।
नेता चौधरीले पहिचानबादीले एक÷दुई कार्टुन बियर र मासुमा भोट नबेच्न समेत आग्रह गरेका छन् । अन्य पार्टीको नारा लगाए र खाएपनि पहिचान स्थापीत गर्न पहिचानबादी पार्टीमै मतदान गर्नु पर्नेमा उनले जोड दिए ।
पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा कोशी नाम खारेजी आन्दोलन परिचालन समितिका संयोजक धनवहादुर पन्धाकको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य संगम खनालले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि चौधरी, पार्टीका उपाध्यक्ष दामोदर पण्डीत, अशोक चेम्जोङ, इन्दिरा मेन्याङ्बो, लाक्पा तामाङ, सचिव गंगाराम चौधरी, त्रिनारायण राजवंशी, सह–सचिव पदम अधिकारी, निमा शेर्पा, संघीय लिम्बुवान प्रान्तीय मञ्चका उपाध्यक्ष डा. रामनारायण कन्दङ्वालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव दिलकुमार लावती र केन्द्रिय सदस्य भबीराज तुम्साले संयुक्त रुपमा गरेका थिए ।