अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का आठ वटा सामुदायिक तथा संस्थागत बिद्यालयका बिद्यार्थीलाई पाँच दिने हस्त लेखन तालिम प्रदान गरिने भएको छ । अर्जुनधारा जेसीजको आयोजना तथा अर्जुनधारा वडा नम्बर ५ को आर्थिक सहयोगमा वडाका चारवटा सामुदायिक र चारवटा संस्थागत बिद्यालयका बिद्यार्थीलाई ‘हेन्डराइटिङ’ लेखन तालिन प्रदान गर्न लागिएको हो । 

वडा ५ का सामुदायिकतर्फ भानु माबि, कन्चनबारी आबि, समाजसेबी आबि र नवज्योती आबि त्यसैगरी संस्थागततर्फ देबभूमि अंग्रेजी स्कुल, ब्राइटर अंग्रेजी स्कुल, एभरेष्ट अंग्रेजी एकाडेमी र होलिबेसिल एजुकेशन फाउण्डेशनका कक्षा ३ देखि माथिका १ हजार ३ सय ७० जना बिद्यार्थीलाई हस्तलेखन तालिम प्रदान गर्न लागिएको कार्यक्रम संयोजक तथा अर्जुनधारा जेसीजका कोषाध्यक्ष बसन्त बुढाथोकीले जानकारी दिए । बिद्यार्थीको क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत तालिमको आयोजना गरिएको हो । 

आगामी शुक्रवारसम्म हुने तालिममा सम्बन्धित बिद्यालयमा ५ दिनसम्म हस्तलेखन तालिम सञ्चालन हुने अर्जुनधारा जेसीजका अध्यक्ष प्रेमकुमार खड्काले बताए । तालिममा प्रमुख सहजकर्ताका रुपमा पारस ढकाल रहेका छन् भने अन्य प्रशिक्षकमा बिजय साह, हर्दिप राजवंशी, अनुग्रह कडेल, अस्मिता बिक, स्वतिका भण्डारी, युनिष ढुङ्गाना र रेखा आचार्य रहेका छन् । सवै प्रशिक्षकहरु कसमस एजुकेशन एण्ड रिसर्च सेन्टरमा आवद्ध रहेको बताइएको छ । 

तालिममा उत्कृष्ट सामुदायिकतर्फ एक छात्र र एक छात्रा, संस्थागततर्फ एक छात्र र एक छात्रा गरी जम्मा ४ जनालाई तालिमको समापनका दिन पुरस्कृत समेत गरिने अध्यक्ष खड्काले जानकारी दिए । 

तालिमको उद्घाटन अर्जुनधारा–५ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गीताराज खड्का (हरि) ले आज (आइतवार) गरेका छन् । अर्जुनधारा जेसीजका अध्यक्ष प्रेमकुमार खड्काको अध्यक्षतामा अर्जुनधारा–५ को कार्यालयमा भएको उद्घाटन कार्यक्रममा औचित्यमाथि प्रकाश तथा स्वागत कार्यक्रम संयोजक बसन्त बुढाथोकीले गरेका थिए । कार्यक्रममा वडाध्यक्ष खड्का, भानु माबिका प्रधानाध्यापक रुपक दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन जेसीज अर्जुनधाराका महासचिब वेदनारायण गोदार थापाले गरेका थिए । 

कसरी लेख्ने, हस्त लेखनको महत्व र प्रभावका बारेमा जानकारी गराउने उदेश्यले तालिमको आयोजना गरिएको बताइएको छ । तालिमका लागि २ लाख ५० हजार रुपैयाँ अनुमानित खर्च हुने बताइएको छ । उक्त छनौट गरिएका आठ वटा बिद्यालयमा ५ दिनसम्म तालिम सञ्चालन हुने जनाइएको छ । तालिममा मनो कर्सीप बिधिबाट अग्रेजी लेखन सम्बन्धि जानकारी गराइनेछ । बिद्यार्थीलाई स्टेशनरी सामाग्री समेत बितरण गरिने जनाइएको छ ।