• प्रकाश उप्रेती 

मेचीनगर ।

 चराको हबको रुपमा रहेको पुर्वी झापाको मेचीनगरले चराको खोज–अनुसन्धान गर्न चितवनका चरा विज्ञको ध्यान खिचेको छ ।विभिन्न प्रजातिका चराहरु हब रहेको मेचीनगरमा आन्तरिक तथा बाह्य क्षेत्रका विज्ञहरु चरा खोज तथा अनुसन्धानका लागि चितवनका बिज्ञको टोली पुगेको छ ।

चितवनका गंगाराम रेग्मीको नेतृत्वमा चरा तथा बन्यजन्तुको खोज तथा अनुसन्धानका लागि बन्यजन्तुका विज्ञहरु मित्र पाण्डे, ज्ञाजो लामा झापा पुगेका हुन् । चितवनका टोली मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले मेचीनगरमा पाइने चरा तथा बन्यजन्तुका विषयमा प्रत्यक्ष अवलोकन भ्रमण गराएका छन् । 

उनले बिहान मेचीनगर(५ माङङहिम टोलस्थित दिलिप सुब्बाले सञ्चालन गरेको माछा पोखरीको सेरोफेरोमा खोजी गरेका थिए । यसैगरी खरेलले टोलीलाई मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टाको चिया वगानको विशेष क्षेत्रमा पाइने ३२ प्रजातिका चराहरुको प्रत्यक्ष अवलोकन गराएका थिए । 

टोलीलाई गर्मीमा आउने आगन्तुक चराहरु कालोटाउके विरहीचरी, गाजले सुनचरी, सानो जुरे कोइलीका विषयमा पनि खरेलले जानकारी गराएका थिए । टोलीलाई पुर्वमा गर्मीमा आउने आगन्तुक चराहरु स्वर्गचरी, कालो जुन वकुल्ला, निलपुच्छे, मुरलीचराहरुको प्रत्यक्ष अवलोकन गराइएको खरेलले बताए । नेपालमा पाइने विभिन्न प्रजातिका ९८२ चरा मध्ये मेचीनगरमा हरित परेवासहित ३२५  चराहरु पाइने गरेको छ ।

टोलीले ध्वाँसे चितुवा तथा अन्य वन्यजन्तुको अवस्था बुझ्न कनकाई नगरपालिकाको जामुनखाडी सिमसारको वन्यजन्तु उद्दार केन्द्रको अवलोकन समेत गरेको थियो । काठमाडौँस्थित थर्ड पोल कन्जरभेन्सी संस्थामा आबद्ध रेग्मी विगत २५ वर्ष देखि स्तनधारी जन्तुको खोजी कार्यमा छन् । झापाको मेचीनगरमा लोप भएका विभिन्न प्रजातिका चरा, बन्यजन्तु हात्ती तथा अवस्था बुझ्न स्वदेशी तथा विदेशी यस सम्बन्धीका विशेषज्ञहरु मेचीनगर आउने गरेका छन् ।